२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


माओपछिकै शक्तिशाली सी चिनफिङ, यस्तो छ सीको सिद्धान्त


0
Shares

चिनियाँ कम्युनिष्ट पार्टीको भर्खरै सम्पन्न १९औं महाधिवेशनले सीको विचारधारालाई पार्टीको निर्देशक सिद्धान्त नै बनाएपछि विश्व राजनीतिमा यसको दूरगामी प्रभाव देखिने आँकलन सुरु भएको छ ।

चीनको दुर्गम लियांगजिआहे गाउँमा कुनै समय खेतीपाती गर्ने चिनियाँँ ठिटो सी १८ वर्षमा कम्युनिष्ट युथ लिगमा सामेल भएपछि राजनीतिक जीवन सुरु भएको थियो । उनी २१ वर्षको उमेरमा कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए ।

पिता कम्युनिष्ट क्रान्तिका नायक रहेकाले पनि उनमा राजनीतिको गहिरो छाप थियो ।

समयक्रमसँगै पार्टीका विभिन्न तह र भूमिकामा रहेर आफ्नो कुशल क्षमता देखाउन सकेका सी सन् २०१२ मा राष्ट्रपति बनेपछि भने उनका विचार, दृष्टिकोण, कार्यशैली र व्यवहार मुलुकबाहिर पनि चासोको विषय बन्न थालेको थियो ।

उनको पदावधि सुरुभएसँगै चीनले लिएको विकासको गति र भ्रष्टाचारविरोधी अभियानले बाह्यजगतलाई आश्चर्यचकित पारिरहेको थियो भने आन्तरिकरुपमा उनी शक्तिशाली बन्दै गएका थिए ।

राष्ट्रपति सी दोस्रो कार्यकालका लागि पनि चुनिने सामान्य अनुमान सबैतिर थियो । तर, महाधिवेशन सकिने बेलासम्म पुग्दा उनी अनुमानभन्दा धेरै माथि पुगे, शक्ति र संगठनसँगै वैचारिक धाराको दृष्टिले पनि ।

१९औं महाधिवेशनबाट सी चिनफिङ विचारधारा भनिएको सीको ‘युग सुहाउँदो चिनियाँ विशेषतामा आधारित समाजवाद’को राजनीतिक दर्शनलाई चिनियाँ कम्युनिष्ट पार्टीको विधानमा समावेश गरिएपछि उनलाई चीनलाई एकीकृत गराउने एकमात्र चिनियाँ सर्वोच्च नायक माओपछिकै शक्तिशाली नेताको तहमा राखेर हेर्न थालिएको छ ।

सीको सिद्धान्तमा मुलुकलाई हरेक पक्षबाट शासित गर्न कम्युनिष्ट पार्टीको भूमिकामा जोड दिइएको छ भने सम्पूर्ण एवं गहिरो सुधार र नयाँ विकासशील विचारलाई बढावा दिइएको छ ।

मानिस एवं प्रकृतिबीच सामञ्जस्यपूर्ण जीवनको वाचा गरिएको छ । जनमुक्ति सेनामाथि पार्टीको पूर्णअधिकारमा जोड दिइएको छ ।

अब चिनियाँ कम्युनिष्ट पार्टीका ९ करोड सदस्यसहित शिक्षण संस्था र कर्मचारीलगायत ‘नयाँ युगको चिनियाँ विशेषतासहितको सी चिनपिङ विचारधारा’मा अभ्यस्त बन्दै जानेछन् ।

सीले भन्ने गरेको नयाँ युगले आधुनिक चीनको तेस्रो चरणलाई संकेत गरेको ठानिएको छ ।

पहिलो चरणमा संस्थापक अध्यक्ष माओत्सुङले गृहयुद्धले ध्वस्त बनाएको चीनलाई सन् १९४९ मा एकढिक्का बनाए ।

दोस्रो चरणमा सन् १९८० मा देड सिआओपिङले खुला नीति लिएर चीनलाई समृद्ध बनाए । र, अहिले आएर सीको तेस्रो चरणले चीनलाई एकताबद्ध र समृद्ध बनाउनुका साथै मुलुकबाहिर सशक्तरुपमा उभ्याउने ठानिएको छ ।

चीनको छिमेकमा रहेका मुलुकहरुमा रुसी राष्ट्रपति पुटिनको एकछत्र शासन छ । जापानमा प्रधानमन्त्री शिन्जो आबे संविधान संशोधन गरी युद्धमा जानसक्ने गरी दुई तिहाइ जनमतको बलमा फेरि उदाएका छन् ।

उत्तर कोरिया आणविक दबदबातिर केन्द्रित छ भने सीले अब चीनलाई महाशक्ति बनाउने दिशामा केन्द्रित गर्ने सम्भावनाले विश्व राजनीति तरंगित हुने देखिन्छ ।

सीले भनेका पनि छन्–‘चीन संसारको केन्द्रमा रहनेछ ।’

अब हेर्नुछ, सन् २०१२ मा सत्ता सम्हालेको पाँच वर्षमा मुलुकको केन्द्रमा आफूलाई उभ्याउन सफल सी अबको पाँच वर्षभित्र संसार हाँक्ने शक्तिशाली सी कसरी बन्ने छन् या छैनन् । –एजेन्सीको सहयोगमा