२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


साउदी अरब बन्यो रोबोटलाई नागरिकता दिने पहिलो देश, यस्तो छ रोबोटको विशेषता


0
Shares

नागरिकता दिइएको रोबोटको नाम सोफिया राखिएको छ । साउदी अरबको पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा यसको जानकारी दिएको हो ।

‘रोबोट सोफिया विश्वकै पहिलो रोबोट हो जसलाई साउदी नागरिकता प्राप्त भएको छ,’ ट्विटर ह्यान्डलमा लेखिएको छ ।

नागरिकता पाएपछि रोबोट सोफियाले पनि धन्यवाद दिएकी छन् । ‘म यस गौरवबाट निकै सम्मानित महसुस गरिरहेको छु,’ सोफियाले भनिन्, ‘पहिलो पटक रोबोटलाई नागरिकताबाट पहिचान गरिनु ऐतिहासिक हो । म मानिसहरुका बीच भरोसा बढाउन काम गर्दछु ।’

सोफियाले रियादमा आयोजना हुने फ्युचर इन्भेस्टमेन्ट समिटमा सभाध्यक्षको भूमिका निर्वाह गरिन् । सम्मेलनमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले देशलाई आधुनिक बनाउने योजना अन्तर्गत लिबरल इस्लामको पुनर्स्थापना आफूले चाहेको बताए ।

सोफियालाई हङकङका हेनसन रोबोटिक्सले बनाएको हो । मुहारको एक्सप्रेसन बुझ्ने र जोसूकैसँग सामान्य कुरा गर्न सक्ने क्षमता यो रोबोटमा छ ।

पत्रकार एन्ड्र्यु सोरोकिनले सोफियाको अन्तरवार्तासमेत लिएका थिए । सोरोकिनको प्रश्नहरुको जवाफ सोफियाले निकै कुशलतापूर्वक दिएकी थिइन् । (एजेन्सी)