
दुवै पार्टीनिकटका युवा संगठनको केन्द्रीय इन्चार्जसहितको शुक्रबारको बैठकले केन्द्र, प्रदेश र स्थानीय तहमासमेत संयुक्तरुपमा प्रचार–प्रसार समिति गठन गर्ने र त्यसलाई प्रभावकारीरुपमा परिचालन गर्ने निर्णय गरेको छ ।
युवा संघ नेपाल र वाइसीएल नेपालको संयुक्त बैठकले दुवै संगठनका पदाधिकारी रहेको सचिवालय र दैनिककार्य सन्चालनका लागि दुवै अध्यक्षसहितको ११ सदस्यीय शीर्ष संयोजन समिति गठन गरेको छ ।
बैठकले दुवै संगठनको प्रदेश इन्चार्ज वा प्रमुखको नेतृत्वमा जिल्लामा जिल्ला अध्यक्ष वा संयोजकको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनाउने र जिल्ला मातहत रहेका समितिसमेत सोहीअनुसार गरिने निर्णय गरेको छ ।
बैठकमा युवा संघका इन्चार्ज महेन्द्रबहादुर पाण्डेले संविधान कार्यान्वयनको महत्वपूर्ण चरणकारुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम शक्तिलाई विजयी गराउन युवाको भूमिका महत्वपूर्ण भएकाले सोहीअनुसार कार्यक्षेत्रमा प्रस्तुत् हुन आग्रह गरे ।
उनले नेपालको इतिहासमा आगामी निर्वाचन नयाँ कार्यभारसहितको निर्वाचन भएकाले सम्पूर्ण ध्यानकेन्द्रित गर्न आह्वान गरे ।
वाइसीएलका इन्चार्ज मणि थापाले कुनैपनि आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर इतिहासको आवश्यकता पूरा गर्दै वामपन्थी गठबन्धनलाई विजयी गराउनु आजको प्रमुख कार्यभार रहेको बताए ।
उनले नेपालका युवाको प्रमुख दुई संगठनले जनतालाई संगठित गर्दै निर्वाचनलाई शतप्रतिशतरुपमा सफल बनाउनुपर्नेमा जोड दिए ।
युवा संघका अध्यक्ष राजीव पहारीले निर्वाचनलाई केन्द्रमा राखेर दुवै संगठन परिचालित हुने बताए ।
वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले ‘युवाकै प्रयासमा मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन भएकाले त्यसलाई संस्थागत गर्ने महत्वपूर्ण अवसर आएको छ’–भने । रासस
प्रतिक्रिया दिनुहोस्