
नयाँ दिल्ली, पुस १८ । सियाचिन ग्लेशियरमा तैनाथ भारतीय सैनिकले अब नुहाउनका लागि ९० दिनभन्दा लामोसयम कुर्नुपर्ने अवस्था अन्त्य हुने भएको छ ।
सो क्षेत्रमा भारतीय सेनाको टोली २१ हजार फिटभन्दा माथि तैनाथ छ । अत्यधिक चिसोका कारण भारतीय सैनिक ननुहाइ बस्ने गर्दछन् । माइनस ५० डिग्री सेल्सियससम्म तापक्रम हुने भएकाले चिसोबाट बच्न सैनिकहरुले विशेष प्रवन्ध गर्नु पर्दछ ।
प्रतिकुल मौसमका कारण सियाचिनमा भारतीय सेनाको टोली तीन महिनामा परिवर्तन गरिन्छ । त्यहाँ तैनाथ रहँदा भारतीय सैनिक ननुहाइ बस्नुपर्ने अवस्था छ ।
भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार ‘बडी हाइजिन’सम्बन्धी उत्पादन प्रयोग गरेर सियाचिनमा रहेका भारतीय सैनिकले अब हप्तामा कम्तीमा दुई दिन नुहाउन पाउने भएका छन् । यस्तो उत्पादनअन्तर्गत २० मिलिलिटर ‘जेल’ ले एकजनालाई नुहाउन पुग्ने बताइन्छ ।
विकट हिमाली क्षेत्र भएका कारण त्यहाँ इन्धन प्रयोग गरेर हिउँ पगालेर नुहाउन सम्भव नहुने अधिकारीहरु बताउँछन् । कोलकातास्थित इस्टर्न कमाण्डले नुहाउनका लागि पानीरहित उत्पादनको परीक्षण गरिसकेको बताइन्छ । परीक्षत उत्साहप्रद रहेको र चाँडै नै सियाचिनमा रहेका भारतीय सैनिकलाई उपलब्ध गराइने भारतीय सैन्य अधिकारीलाई उद्धृत गर्दै सो अखबारले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्