विभिन्न राजनीतिक दलबाट प्रत्यक्षतर्फबाटमात्रै ४० भन्दा बढी व्यवसायी चुनावी मैदानमा उत्रिएका छन् ।
त्यसरी प्रतिस्पर्धामा उत्रिनेमा राजनीतिक पृष्ठभूमि बनाएका र व्यवसायीकैरुपमा चिनिने पनि रहेका छन् ।
व्यवसायबाट राजनीतिमा स्थापित भएकाहरुमा विक्रम पाण्डे, टेकबहादुर गुरुङ, जनार्दन ढकाल, पूर्णबहादुर तामाङ (कान्छाराम), मोहन आचार्य, दिलमान पाख्रिन छन् ।
उनीहरु सबै प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । राजेन्द्र बजगाइँ, रमेश धमला, विष्णु खत्रीलगायतका केही व्यवसायी प्रदेशसभामा प्रतिस्पर्धा गर्दैछन् ।
मन्त्रीसमेत रहेका विक्रम पाण्डे चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन् ।
उनी कालिका कन्ट्रक्सनका मालिक हुन् । उनले मिडिया पनि सन्चालन गर्दै आएका छन् ।
मनाङबाट प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ वैदेशिक रोजगार व्यवसायी हुन् ।
समानुपातिकको सूचीमा परेपनि त्यसलाई छाडेर प्रत्यक्ष निर्वाचनमा उत्रिएका पन्चकन्या ग्रुपका अनिल रुँगटा कांग्रेसबाट पर्सा क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
यस्तै, धादिङ–२ बाट प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार बनेका दिलमान पाख्रिन ‘क’ वर्गका निर्माण व्यवसायी हुन् ।
धादिङको क्षेत्र नम्बर–२ ‘ख’बाट प्रदेशसभा उम्मेदवार रहेका रमेश धमला पर्यटन व्यवसायी हुन् ।
कांग्रेसको तर्फबाट ललितपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार चन्द्र महर्जन इँटा व्यवसायी हुन् ।
एमालेको तर्फबाट रसुवामा उम्मेदवार बनेका निवर्तमान सांसद जनार्दन ढकाल निर्माण व्यवसायी हुन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मोहन आचार्य पनि निर्माण व्यावसायी नै हुन् ।
रामेछापबाट प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) र मकवानपुर–२ ‘ख’का उम्मेदवार इन्द्रबहादुर बानियाँ दुवै ‘क’ वर्गका निर्माण व्यवसायी हुन् ।
कांग्रेसका तर्फबाट काभ्रे–१ बाट प्रतिनिधिसभा उम्मेदवार तीर्थ लामा, प्रदेशसभा उम्मेदवार गणेश लामा, एमालेका तर्फबाट काभ्रेमा प्रदेशसभा उम्मेदवार चन्द्र लामा, सिन्धुलीमा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार छत्रबहादुर बम्जन सबै निर्माण व्यवसायी हुन् ।
सिन्धुपाल्चोक–१ को ‘क’मा कांग्रेस उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ र ‘ख’का उम्मेदवार विष्णुकुमार खत्री दुवै व्यवसायी हुन् ।
स्याङ्जा–१ बाट प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार राजु थापा ‘क’ वर्गको निर्माण कम्पनी सन्चालक हुन् ।
गोरखा–१ को ‘ख’बाट प्रदेशसभामा कांग्रेस उम्मेदवार राजेन्द्र बजगाइँ पनि होटल एवं क्यासिनो सन्चालक हुन् ।
कांग्रेसबाट सोलुखुम्बुको प्रदेशसभा ‘क’का उम्मेदवार प्रकाशसिंह कार्की, झापा–१ ‘क’का केशवराज पाण्डे, एमालेबाट झापा–४ प्रतिनिधिसभा उम्मेदवार एलपी साँवा लिम्बू, झापा–१ ‘क’का प्रदेशसभा उम्मेदवार श्रीप्रसाद मैनाली व्यावसायिक क्षेत्रका व्यक्ति हुन् ।
मोरङ–३ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार सुनिलकुमार शर्मा, सप्तरी–४ का तेजुलाल चौधरी, सर्लाही–३ का हरेशप्रसाद महतो निर्माण क्षेत्रमा छन् ।
संघीय समाजवादी फोरम नेपालका तर्फबाट पर्सा–३ का प्रतिनिधिसभा उम्मेदवार हरिनारायण चौधरी, एमालेको तर्फबाट सुर्खेत–१ ‘क’ प्रदेशसभा उम्मेदवार खड्कबहादुर खत्री, कपिलवस्तु–३ ‘क’मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार विरेन्द्रकुमार कनौडिया सबै व्यवसायी हुन् ।
दलहरुले केही उद्योगपतिलाई समानुपातिक सूचीमा राखेका छन् । नेपालका एकमात्र खर्बपति विनोद चौधरी कांग्रेसको समानुपातिक सूचीमा छन् भने एमालेले उद्योगी मोतीलाल दुगडलाई समानुपातिकबाट सांसद सिफारिस गरेको छ ।
प्रभु समूहका अध्यक्ष देवी भट्टचन, हिसानका पूर्वअध्यक्ष उमेश श्रेष्ठ, निर्माण व्यवसायी बहादुरसिंह लामालगायत समानुपातिक सूचीबाट सांसद बन्ने अभियानमा लागेका छन् ।
लोकतन्त्रको स्थापनापछि राजनीतिमा आकर्षित बनेका उद्योगी–व्यवसायीहरु प्रत्येक निर्वाचनमा बढ्दो संख्यामा छन् ।
२०६४ को निर्वाचनमा ठूला उद्योगी–व्यवसायी संसदमा पुगेका थिए भने २०७० मा शिक्षा क्षेत्रका व्यवसायीको प्रभाव बढी रह्यो ।
यसपटकको निर्वाचनमा अरु उद्योगी–व्यवसायीभन्दा निर्माण व्यवसायीको बाहुल्यता देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्