Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


एउटैमात्र सम्पदा पुनःनिर्माण, बजेट ‘फ्रिज’


0
Shares

वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रका मन्दिरमा आंशिकमात्र क्षति पुगेपनि सत्तल भने पूर्णरुपमा भत्किएका थिए ।

भत्किएकामध्ये हालसम्म लालगणेश मन्दिरकोमात्र पुनःनिर्माण सम्पन्न भएको छ । भट्टहरुको आवास मर्मत पनि सम्पन्न भएको छ ।

बाँकी ६३ ओटा सम्पदा पुनःनिर्माणको प्रक्रियामा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषमा प्राविधिक जनशक्तिको कमी रहेकाले पुनःनिर्माणमा ढिलाइ भएको हो ।

पाँच वर्षमा पशुपति क्षेत्रका पुरातात्विक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक दृष्टिले महत्व बोकेका सम्पदा पुनःनिर्माण गर्न रु दुई अर्ब २० करोड लाग्ने अनुमान गरिएको छ ।

भूकम्पपछि गत आर्थिक वर्षमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्पदा पुनःनिर्माणका लागि रु २५ करोड निकासा गरेको थियो ।

सार्वजनिक खरिद ऐन र नियमावलीको प्रक्रिया पूरा गरेर निकासा भइ आएको बजेटको एक तिहाइ पनि कोषले खर्च गर्न सकेन ।

गत वर्ष कोषले रु चार करोड २५ लाख बराबरको पुनःनिर्माण सम्पन्न गरेको निर्देशक भरत मरासिनीले जानकारी दिए ।

‘प्राधिकरणबाट पुनःनिर्माणका लागि आएको बजेटको २० प्रतिशतमात्र गत वर्ष खर्च हुनसक्यो, बाँकी बजेट फ्रिज भयो, चालु आवमा रु २० करोड ७५ लाखको ठेक्का भइ काम सुरु भएको छ’–उनले भने ।

भूकम्पले भत्किएका ६४ सम्पदामध्ये कोषले पाँचओटा सम्पदा पुनःनिर्माणको जिम्मेवारी दातालाई दिएको छ ।

दातालाई पुनःनिर्माण गर्न जिम्मेवारी दिइएका सम्पदामा चार शिवालयमध्ये गौरीघाट र गौरीघाट चौघेरा सत्तल रु तीन करोड, बज्रेश्वरी सत्तल रु ५० लाख, जयबागेश्वरी मन्दिर रु दुई करोड र महास्नानघर रु तीन करोडको लागतमा जिम्मेवारी दिइएको हो ।

भत्किएका सम्पदामध्ये हालसम्म रु ८ करोड ५० लाखको लागतमा दातालाई बनाउने अनुमति दिइएको छ ।

प्राधिकरणले दिएको बजेबाट पुनःनिर्माण सुरु भएका सम्पदामा चन्दनपाटी (घ्याम्पे सत्तल)को काम ८०, शंकराचार्य मन्दिर ६०, कुलानन्द झा सत्तल ८०, वनकाली सत्तल ८० र अमरकान्तेश्वर मन्दिर ४० प्रतिशत सम्पन्न भएको कोषले जनाएको छ ।

सुरेशकान्तेश्वर मन्दिर, गुह्येश्वरी चौघेरा सत्तल पश्चिम खन्ड र ताराप्रकाशेश्वर मन्दिरको निर्माण प्रारम्भ भएको छ ।

कोटीलिंगेश्वर मन्दिरको जगको काम भइ अरु काम सुरु भएको निर्देशक मरासिनीले बताए ।

गुह्येश्वरस्थित वाग्मती किनाराको सत्तल ४५, पन्ध्रशिवालय सत्तल ८०, चौतरिया शिवालय दुईओटाको गजुरको काममात्र बाँकी रहेको छ ।

मृगस्थली परिसरका शिवालय पुनःनिर्माणका लागि एकपटक ठेक्का भएकामा प्रक्रिया नमिलेको भनी पुनः ठेक्का भएको छ ।

भूकम्पले भत्किएका शंकरनारायण सत्तल, गोरखनाथ मन्दिर पश्चिम सत्तल, ढोँ गुठी (द्यो छेँ), बज्रघर, किराँतेश्वर सत्तल, लक्ष्मीनारायण मन्दिर, सप्तमी सत्तल, गुह्येश्वरी सेतो सत्तल, चाबहिलस्थित चन्द्रविनायक मन्दिर, विश्वरुप मन्दिर, दूधधारी पाटी, जीतजंगप्रकाशेश्वर मन्दिरलगायत सम्पदा पुनःनिर्माणका लागि अझै लागत विवरण र पुरातत्व विभागबाट अनुमति लिने काम भइरहेको छ ।

पशुपति क्षेत्रका सम्पदा भूकम्पबाटभन्दा पनि समयमा जीर्णोद्धार नभएकाले बढी क्षति भएको कोषले अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ ।

भष्मेश्वर सत्तल २०७२ साल वैशाख १२ गते अघि नै कोषले जीर्णोद्धार गर्ने कार्यक्रम बनाएको थियो । तर, कोषले जीर्णोद्धार गर्न नपाउँदै भूकम्पबाट भत्किएकाले पुनःनिर्माण गर्नुपरेको हो ।

भूकम्पले अन्य स्थानका सम्पदा पूर्णरुपमा क्षति पुग्दा बढी ऐतिहासिक, सांस्कृतिक एवं धार्मिकस्थल रहेको पशुपतिमा कम क्षति पुगेकाले विदेशी विज्ञ एवं पर्यटकको चासोको विषयको बनेको थियो ।

प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटा पशुपति क्षेत्रमा भत्किएका सम्पदामध्ये हालसम्म लालगणेश मन्दिर र भष्मेश्वर सत्तलमात्र सम्पन्न भएको प्रतिवेदन प्राप्त भएको स्वीकार गर्छन् ।

‘अन्य ठाउँका सम्पदा पुनःनिर्माणमा प्रगति भएको देखिएपनि पशुपति क्षेत्रकै सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको छ, छिटो निर्माण सम्पन्न गराउने उद्देश्यले यसै साता छलफल गरिने भएको छ’–उनले भने ।

भूकम्प गएको लामो समय बित्दासमेत सम्पदा पुनःनिर्माणमा विलम्ब हुँदा पर्यटकमा नकारात्मक प्रभाव पर्नसक्ने भएकाले छिटो गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।