Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


निर्वाचनलगत्तै बाहिरी चक्रपथको शिलान्यास


0
Shares

बाहिरी चक्रपथको विस्तृत् परियोजना प्रस्ताव सहरी विकास मन्त्रालयले स्वीकृत गरी मन्त्रिपरिषदमा पेस गरेकाले केही दिनभित्रै पारित हुनेछ ।

जनताको चाहना र आवश्यकताबमोजिम बाहिरी चक्रपथ निर्माण गरिने बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दिलनाथ गिरीले बताए ।

‘उपत्यकामा दिनानुदिन बढ्दै गएको सहरीकरण र सवारी चापलाई नियन्त्रण गर्न आव २०५५/२०५६ देखि बाहिरी चक्रपथको अवधारणालाई आव २०६२/२०६३ देखि सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेपनि काम अघि बढ्न सकेको थिएन, डेढ दशकपछि काम अघि बढाएका छौं’–उनले भने ।

बाहिरी चक्रपथ एक किमि निर्माणका लागि रु एक अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए ।

मध्यपहाडी र हुलाकी राजमार्ग आसपास १०/१० नयाँ सहर, पाँच ‘स्मार्टसिटी’ गरी २५ आधुनिक सहर निर्माणको काम अघि बढेको मन्त्री गिरीले बताए ।

यसैगरी, देशका १४ स्थानमा ज्येष्ठ नागरिक आवासस्थल निर्माण प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्र संघीय (यूएन) पार्कलाई अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गत् राखी बाग्मती नदी सौन्दर्यीकरण अभियानलाई नयाँरुपमा अघि बढाइने जानकारी दिइएको छ ।

देशका २६ स्थानमा आधुनिक सुविधा सम्पन्नसभा हल बनाउने काम पनि अगाडि बढेको छ ।

बबरमहलका सरकारी कार्यालयलाई एकीकृत गरी सरकारी प्लाजाअन्तर्गत् राख्ने अवधारणा पनि मन्त्रालयले बनाएको छ ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले काठमाडौंको इचंगुनारायणमा न्यून आय भएका व्यक्तिका लागि आवास निर्माण गरिएकाले बाग्मती किनारमा रहेका सुकुम्वासीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिचयपत्र वितरण गरेपछि बसाइने योजना रहेको जानकारी दिए ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंहले निजगढ, पालुङटार र लुम्बिनीमा ‘स्मार्टसिटी’ निर्माण गर्न पूर्वसम्भाव्यताको काम अघि बढेको जानकारी दिए ।

उपत्यकामा चारओटा स्याटेलाइट सिटीको काम पनि अघि बढेको मन्त्रालयले जनाएको छ । रासस