Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


१६ बर्षपछि सॉफेबगर विमानस्थल सञ्चालन गर्न धमाधम काम


0
Shares

तत्कालीन विद्रोही माओवादी र नेपाली सेनाबीच भएको दोहोरो भिडन्तमा विमानस्थलको टावर ध्वस्त भएपछि सो विमानस्थल अवरुद्ध भएको थियो ।

सरकारले गत साल विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गरेपछि विमानस्थलको काम अगाडि बढेको होे । १२ करोडको लगानीमा १८ महिनाभित्र काम सम्पन्न गर्ने जिम्मा अमर कन्ट्रक्सन प्रालिले पाएको छ । निर्माण कम्पनीका भद्रबहादुर शाहीका अनुसार स्टेमेट अनुसार पहिले कटिङ अनि फिलिङको काम सकिएपछि कालोपत्र गर्ने काम शुरु गरिने छ ।

यसअघि बर्षाका कारण र दशैं तिहारको बीचमा विमानस्थलको कार्य केही दिन रोकिएको भए पनि अहिले तिब्र गतिमा काम भईरहेको शाहीले बताए । उनले भने, ‘जेठ महिनादेखि काम थालिएको हो, केहि दिन बर्षाका कारण र चाडबाड परेकाले काम रोकियो अब काम सुचारु छ ।’

अछामको मुख्य ब्यापारिक केन्द्र मानिने साँफेबगर विमानस्थल सञ्चालनका लागि काम शुरु भएसँगै स्थानीय पनि खुशी भएका छन् । स्थानीय ब्यापारी पुरन कुँवरले लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने भएपछि निकै खुशी लागेको बताए । ‘यहाँको पर्यटन प्रवर्द्धनका लागि र छिटो छरितो यात्राका लागि बिमानस्थल सञ्चालनमा आउनुपर्छ,’ उनले भने ।

स्थानीय पशुपति कुँवरले आवतजावतमा सजिलो हुनका साथै विमानस्थल सुचारु भएपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनु नपर्ने, छिटो छरितो रुपमा बिरामीले उपचार पाउने बताए ।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले यहाँको पर्यटन प्रर्द्र्धनका लागि मेरुदण्डको रुपमा विमानस्थललाई लिइएकाले पनि छिटो सञ्चालनका लागि काम भईरहेको बताए ।

विमानस्थल सञ्चालनमा आएपछि यहाँका बाह्य तथा आन्तरिक पर्यटकहरु भित्र्याउन सकिने विश्वाश लिइएको उनले बताए ।

अछामको रामारोशन, बैधनाथधाम, खप्तडजस्ता पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्ने र यहाँका मानिसहरुको आयआर्जनमा समेत सहयोग पुग्ने भएकाले छिटो विमानस्थल सुचारुका लागि काम भईरहेको छ । दुई दशकदेखि गौचरन र घासेमैदान बनेको विमानस्थलमा महोत्सव र महायज्ञजस्ता कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।