Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


मनाङलाई हराउँदै आर्मीले जित्यो सताक्षी गोल्डकप, फाइनलमा भयो तनाव


0
Shares

मनाङ–मर्स्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।

उपाधिसँगै आर्मीले नगद पाँच लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको मनाङले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनपर्‍यो ।

बिहीबार झापाको शिवसताक्षीस्थित झिलझिलेमा भएको प्रतियोगिताको फाइनल भिडन्त प्रतिस्पर्धात्मक साथै विवादित पनि बन्यो ।

आर्मीका लागि जर्जप्रिन्स कार्कीले खेलको १८औं मिनेटमा फ्रिकिकमार्फत् गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।

आर्मीले गरेको दोस्रो गोल भने निकै विवादित बन्यो । खेलको४४औं मिनेटमा नवयुग श्रेष्ठको प्रहारलाई दबाबकाबीच रेफ्री लव खत्रीले गोल भएको घोषणा गरिदिए ।

गोलपोस्टभित्र बल छिरेको आर्मीका खेलाडीले दाबी गरेपनि मनाङले अस्वीकार गरेपछि विवाद उत्पन्न भएको हो ।

विवादपछि मनाङका प्रशिक्षक विजय घलेले आर्मीको दोस्रो गोल अस्वीकार गर्दै आफ्ना खेलाडी फिर्ता बोलाएका थिए । झन्डै १५ मिनेट स्थगित भएको खेल पुनः २–० कै अवस्थाबाट सुचारु गरिएको थियो ।

खेलेको ६०औं मिनेटमा मनाङका कप्तान अनिल गुरुङले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेनन् ।

खेलमा ‘म्यान अफ द टुर्नामेन्ट’ मनाङका विशाल राईलाई नगद ५० हजार र बढी गोलकर्ता आर्मीका नवयुग श्रेष्ठलाई नगद २५ हजारबाट पुरस्कृत गरियो ।

उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथू, उत्कृष्ट डिफेन्डर आर्मीका सुमन अर्याल, उत्कृष्ट मिडफिल्डर मनाङका डोना थापा, उत्कृष्ट फरवार्ड आर्मीका जर्जप्रिन्स र उत्कृष्ट प्रशिक्षक आर्मीका नवीन न्यौपाने घोषित भए । उनीहरुलाई जनही २० हजार रुपैयाँका दरले पुरस्कृत गरियो ।