Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


मलेसियाविरुद्ध नेपालको जित, अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना कायम


0
Shares

थाईल्याण्डको बैंककमा आज बिहान टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । नेपालको लागि सिता राना मगरले ३७ रन तथा ज्योति पाण्डेले २१ रन बनाए ।

जवाफमा १ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ७५ रनमात्र बनाउन सक्यो । मलेसियालाई रोक्न नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् ।

आजको जितसँगै नेपालले जारी प्रतियोगिताबाट अन्तिम चरणको छनौटमा पुग्ने सम्भावना जीवितै राखेको छ ।

बर्षाले प्रभावित समूहको पहिलो र दोस्रो खेलमा अंक बाँड्न बाध्य भएपछि र तेस्रो खेलमा हिजो युएइसँग ५ रनले पराजित भएपछि एसिया क्षेत्रको छनोटबाट अन्तिम चरणको छनोटमा पुग्ने नेपालको सम्भावना कमजोर बनेको थियो ।

समूहको अन्तिम खेलमा नेपालले आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ ।

६ टोली सहभागी प्रतियोगिताको अंक तालिकामा शीर्ष २ स्थानमा रहने टोली टि–२० महिला विश्वकप क्रिकेट छनोटको ग्लोबल क्वालिफायरका लागि छानिने छन् ।

तालिकाको शीर्ष २ मा अटाउन नेपालले आइतबार चीनलाई जित्नै पर्ने हुन्छ भने अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्ने हुन्छ ।