६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


देउवालाई सुखान्त राजनीतिक ‘रिटायरमेन्ट’को अवसर


0
Shares

सँधै खडेरी परेको मात्र दोष थाप्लोमा बोक्ने देउवालाई यसपटक पानी परेको शितलताको श्रेय दिन अतियुक्ति नहोला । हार्दिक बधाई र शुभकामना प्रधानमन्त्री शेरबहादुर देउवा । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक दुवै सभाको चुनाव भएको हो यस अघि स्थानीय तहको चुनाव पनि गणतान्त्रिक संबिधान कार्यान्वयनको पहिलो र महत्वपूर्ण खुड्किलो हो । जसको पनि दोस्रो र तेस्रो चरणको नेतृत्व शेरबहादुर देउवाले गर्न सके । इतिहास देखि वर्तमानसम्म एउटा संयोग र परिस्थिति यस्तो बन्छ जुनसुकै ठूलाठूला राजनीतिक परिवर्तनको नेतृत्व र घटनाक्रमको अगुवाइमा कांग्रेसको अपरिहार्यता प्रकट हुन्छ । कांग्रेसको नेतृत्व समयको माग बन्छ । कांग्रेसले नै नेतृत्व गरेपछि मात्र त्यसले सार्थकता पाउँछ र कार्यन्वयनमा जान्छ । कांग्रेस पार्टी यसका नेता कार्यकर्ताको शैली नीति र ब्यवहारमा सँधै सँधै प्रश्न नै प्रश्नको घेरा लाग्ने गर्छ । सँधै आक्रमण र निशानी मूल रुपमा कांग्रेसले नै झेल्नु पर्छ । सहनु पर्छ । बली दिनै पर्छ । पंचायत देखि वर्तमानसम्म आइपुग्दा कांग्रेस भएको कारण, आस्था बोकेको कारण मारिने, दुःख पाउने, जेलनेल खानुपर्ने, लखेटिने र निर्वासित हुनेको पीडा कांग्रेसमा जति अरुमा छैन । यो लामो समयको काल खण्डमा आस्था बोकेको आधारमा अर्को पार्टीबाट मारिनुको नियति शायद कांग्रेसको भागमा धेरै छ । तर पनि कांग्रेस कहिल्यै सकिएन । मरेन, धुलिसाथ भएन ।

यसको गर्विलो इतिहास त्याग बलिदान र समर्पणको बिगत यसको आजसम्मको अटुट विरासत बन्यो । जुन कांग्रेसीहरुको लागि गर्व र शानको विषय हो । आफ्नो स्थापनाको ७० वर्षसम्म कांग्रेस अविचिछिन्न रुपमा नेपाली राजनीतिलाई आफ्नो वरिपरी घुमाउन सफल छ । संकट पर्‍यो की देशको नेतृत्व कांग्रेसले गर्ने अवसर परि परि आउछ । विपी कोइराला, गणेशमान सिंह, सुवर्ण समसेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले आफ्नो क्षमता, जवानी, उर्जा र श्रीसम्पति खर्चेर बनेको कांग्रेस धेरै पटक कर्तव्यच्युत नभएको होइन । कांग्रेस धेरै पटक नराम्रोसँग चुकेको छ, पछारिएको छ, आफ्नो अयोग्यताले शिर झुकाएको छ । सत्ताको उन्मादमा रहेको कांग्रेस होस् हवास गुमाएर सडकमा बजारिन र थचारिन आएको छ । यद्दपि यसको सान्दर्भिकता र औचित्यता समयले बारम्बार खोज्ने गर्छ, सोध्नेगर्छ । व्यक्ति, नीति ,कार्यशैली अनि अहमको कारण कांग्रेस समय क्रममा विश्रीखलित र लय भंग पनि थियो, छ, बन्छ तर समयको आवश्यकता हो या अरुहरुको क्षमता नभएर हो कांग्रेस ‘लाटो देशको गाँडो तन्नेरी’ बन्न सकेकै छ ।

संगीन परिस्थिति र संक्रमणकालीन घडीमा कांग्रेसको नेतृत्व सँधै परिक्षा दिन आइपुग्छ र असफल हुँदैन । कांग्रेस पार्टी लामो समय र सुशासन दिने क्रममा व्यापक असफल र निस्तेज छ । तेजहीन र गतिछाडा देखिएको छ । यति हुँदाहुँदै पनि एेतिहासिक र सुनौला अनि अविस्मरणीय घडी, पला र क्षणको अगुवाइमा कांग्रेसको अब्बलता प्रश्न वाचक थुप्रै थुप्रै चिन्ह सहित प्रशसित र उदाहरणयोग्य छ । बिपी कोइरालाले करिश्मायुक्त प्रधानमन्त्रीत्व वि.स २०१५ सालको निर्वाचन पछि करिब १८ महिना मात्र सम्हाल्न पाए । त्यसको राजनीतिक जस र कार्यब्यापारको नाफा आज पर्यन्त कांग्रेस खादैछ । त्यो ऐतिहासिकता कांग्रेसको लागि आज पनि स्तुत्य छ । बिपी कोइरालले बनाएको राजमार्गमा कांग्रेसले आफ्नो गाडी निर्बाध गुडाई रह्यो तर खण्डहर बनेको राजमार्ग टाल्ने, फराकिलो बनाउने र आधुनिकीकरण गर्ने जमर्को कहिल्यै गरेन । त्यसैले सामयिक स्तरीकरण बिनाको बाटोमा यात्रारत रहँदा कांग्रेसको राजनीतिक दर्शन र भारी बोकेको गाडी बेला बेलामा दुर्घटना ग्रस्त बन्ने गरेको छ । कांग्रेसको समस्या यहि हो । बिपीले खनिदिएको बाटो स्तरीकरण गर्न, त्यो बाटोमा राजनीतिक धारा प्रबाहिकरण गर्न कांग्रेसले जानेन र जान्ने छाँट पनि देखाएको छैन । कांग्रेसले यहिबाट अब आफूलाई सुधारेर लानुपर्छ ।

वि.स २०४६ पछिको राजनीतिक संक्रमणकालीन अवस्थामा आफ्ना नेता कृष्ण प्रसाद भट्टराईको कुटिलता र चातुर्यताले २०४७ सालको संबिधान देशलाई सहजतापूर्वक दिन नेतृत्व गरेको कांग्रेस २०६२, ०६३ को व्यापक शान्तीपूर्ण आन्दोलनको अगुवाइ गरी १० वर्षे द्वन्द हत्या र हिंसालाई विश्राम दिन सार्थक प्रयास र उपल्लो स्तरको राजनीतिक क्षमता प्रदर्शन गरेको कांग्रेस, आफ्ना नेता गिरिजाप्रसादको ‘टावर पर्सनालिटी’ पाएर नै राजालाई शान्तिपूर्ण रुपमा दरवार खाली गराउन काबिल बन्यो । २०६४ को निर्वाचन पछि प्रचण्ड बहुमत बामपन्थीहरुको सरकारले संबिधान बनाउन नेतृत्व प्रदान गरेका पुष्पकमल दाहाल प्रधानमन्त्रीको फोटो झुण्ड्याएर मात्र सिहंदरबारबाट बाहिरिए । त्यसैगरी माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई पनि संबिधान बनाउने सबैलाई समेट्न सक्ने खुवी देखाउन नसकी केवल प्रधानमन्त्रीको कुर्सीमा पुगेर मात्र सत्ता निवृत बने । २०७० को चुनाव पछी जब सुशील कोइराला प्रधानमन्त्री बने तब आफ्ना पूर्वज दिबंगत नेताहरु झैं यिनलाई पनि कांग्रेसको विरासत प्राप्त अरु नेताहरुलाई जस्तै एउटा सुखद संयोग जुर्‍यो । नयाँ गणतान्त्रिक र संघीय संबिधान जारी गर्न सफल भए । भलै संबिधान सर्व स्वीकार्य र आलोचना विहीन बन्न सकेन । तर विश्वको सर्वोच्च मान्यतामा आधारित र अधिकतम बहुल जनप्रतिनिधिको समर्थनमा जारी भयो र अहिले घोषणा पश्चात नेपालको संबिधान ब्यवहारिक रुपमा लागु हुने चरणमा छ । कार्यन्वयन हुँदैछ । लागु हुदैछ ।

कांग्रेसको ऐतिहासिक विरासत र लिगेसी नै भनौ संबिधान कार्यन्वयनको जिम्बेवारी पनि कांग्रेसका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको काँधबाट सम्पन्न हुँदैछ । संविधान कार्यन्वयनको जस देउवा र कांग्रेसको भागमै समयले फेरि पारिदियो । पाँचौ पटक या बहुदलीय व्यबस्थाको पुनरागमन पछि देउवा सँधै जनताबाट पुरस्कृत र भाग्यमानी पात्र हुन, सत्ता सयरको मामलामा । सुदूरपश्चिमको सामान्य परिवारको मान्छे नेपालको केन्द्रीय सत्ताको चौरस्तामा पहिलोपटक गिरिजाप्रसादको मन्त्रिपरिषदमा शक्तिशाली गृहमन्त्रीको हैसियतमा ‘इन्ट्री’ गरेका थिए । गृहमन्त्रीको रुपमा थुप्रै अपजसको भारी बोके पनि औसत गृहमन्त्री नै हुन् असफल भने होइनन् । ‘लाटाको खुट्टा बाटोमा’ भन्ने उखान चरितार्थ गर्दै । उनको शारीरिक क्षमतालाई लिएर यो उखान प्रयुक्त भएको होइन । जब उनी प्रधानमन्त्री पद ३२ औं प्रधानमन्त्री २०५२ मा आफ्नो पोल्टामा पार्न सफल भए, भनौं समयले त्यो भूमिका यीनबाट निर्वाह हुने अपेक्षा राख्यो तब देश र दुनियाका दुर्दिन सुरु भए । विसंगत जीवनका असंगत पक्ष पाटो र प्रवृतिहरु छताछुल्ल देखियो पोखियो । सत्ता राजनीतिको चरम दुरुपयोग गरियो । संसदमा ‘प्राँडो र पजेरो काण्ड’, सुरा-सुन्दरीको प्रसंग , लोग्नेजातका संसद्को सुत्केरी भत्ता, रातो पासपोर्टको घिनलाग्दो दुरुपयोग, माओवादी आन्दोलनको सुरुवात माओवादी नेता कार्यकर्ताको टाउकाको मुल्य तोक्ने आदि इत्यादि सबै सबै दुष्परिणाम यिनकै कार्यकालका उपज र उन्नति हुन् ।

समग्रमा इतिहासको यो काल खण्डका सत्ता दुरुपयोगका जननी कै रुपमा यीनलाई चिनिन्छ बुझिन्छ । सत्ता टिकाउने बहानामा यिनले जे गरे त्यो बेला जे हथकण्डा अपनाइयो ती सबैको मुख्य जिम्वेवारी यीनको थाप्लोमा जान्छ । सहायक र गौण कारण र भूमिकामा अरु पार्टी र नेता पनि थिए । तर देशको प्रधानमन्त्री पार्टीको नेता भएकोले यिनकै कारण जे भयो, सब भयो । त्यसैले दोष नै दोषको भारी यीनको काँधमा हालिदिंदा अन्याय हुन्न पक्कै पनि । भन्छन, पानी परेको जस आफ्नो भन्ने इन्द्रले खडेरी परेको अपजस पनि लिनुपर्छ । विकृति विसंगतिको ठुलो पहाड नै खडा गरे पनि २०५८ साउन ७ देखि २०५९ असोज १८ मा पुनः दोस्रोपटक देशको सर्वोच्च पदको न्यानो लिन पुगे । राजा ज्ञानेन्द्रले सत्ता लिएपछी बर्खास्तीमा परे । भाग्यको खेल २०६१ जेठ २१ मा तेस्रोपटक प्रधानमन्त्री बनेका देउवालाई राजाले असक्षमको पगरी दिंदै सत्ताच्युत गराए । राजनीति पनि सम्झेजस्तो सोचे जस्तो नहुने रहेछ । नेपाली राजनीतिमा नालायक र असक्षम घोषित देउवाले चौथोपटक र नेपालको ४० औं प्रधानमन्त्री बन्ने क्रममा व्यक्तिको रुपमा प्रतिद्वन्द्वी समेत पाउन सकेनन । पुन (२०७४) १२ वर्ष पछि प्रधानमन्त्री बनेर अहिलेसम्म आसिन छन् ।

तेस्रोपटकसम्मको प्रधानमन्त्रीत्व बिबादास्पद, अनाकर्षक र पेचिलो बने पनि यो चौथो पटकको कार्यकाल भने उपलब्धिमुलक, उपलाब्धिनजिक र कम विवादास्पद बनेको छ । संविधान कार्यान्वयनको ऐतिहासिक र गुरुत्तर दायित्व यिनकै काधबाट सम्पन्न हुदैछ । प्रधानमन्त्री पदको जिम्वेवारीपछि अहिले जुन सफलता र कामको थालनी गरेका छन जसबाट बिगतमा मिलेको थुप्रै नकरात्मक उपाधि कलंक र असक्षमता घटाउने छोप्ने र पखाल्ने मौका यीनलाई प्राप्त भएको छ । स्थानीय तहको निर्वाचन नै देउवाबाट सम्भव छैन भन्नेहरु देउवाले चुनाब गराएमा राजनीतिबाट सन्यास लिनेसम्म कुरा गर्थे । दुई चरणको चुनाव सफलतापूर्वक संचालन गरेको अनुभव अहिले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको चुनाव सम्पन्न गर्नका लागि फापसिद्द भएको छ । प्रमुख प्रतिपक्षी नेता हाल बाम गठबन्धनका उच्चायुक्त केपी ओलीले ९ गते बेलुकीसम्म देउवाले चुनाव गराउन सक्तैनन् भन्ने ठोकुवा गरी रहे तर चुनाव सम्पन्न गराएर देउबाले आफ्नो छवीमा केहि धोई पखाली गरे ।

‘कदमजम्प’ भन्ने राजनीतिक अवधारणा पनि नेपाली राजनीतिमा उलेख्य र प्रभाबकारी कदम हो । चिकित्सा शिक्षा क्षेत्रमा डा.गोविन्द केसीले उठाएको देशको आवश्यकता र मागलाई अध्यादेश मार्फत सम्बोधन गरेर एेतिहासिक उपलब्धिको कोसेढुंगा सावित गर्न प्रयत्न गरे । चिनियाँ कम्पनी गेजुवासँग गरेको ठेक्कासम्झौता रद्द गरी बुढी गण्डकी आफैंले आफ्नै स्वदेशी पुंजीबाट विद्युत प्राधिकरणले बनाउने जुन निर्णय भएको छ यो स्वागतयोग्य र देशभक्त कदम हो । खलनायकीबाट नायकी तर्फको यात्रामा देउवाको पाइला मोडिनु निस्चय नै सुखद पक्ष हो । राजनीतिको बाटोलाई सही कोर्षबाट अघि बढाउन र उदाहरणीय बनेर आफू माथि लागेको धब्बा पखाल्न देउवाले अब सक्रिय सत्ता राजनीति र पार्टी राजनीतिबाट ‘रिटायर’ हुनु सान्दर्भिक ठहर्छ ।

अब दोस्रो चरणको निर्वाचनपछि आफुले हारे जिते पनि, पार्टीले जय पराजय जे हात लाए पनि आफ्नो एेतिहासिक र गहन जिम्वेवारी पुरा गरेको सुखान्त अनुभव गर्दै, पार्टी नेतृत्व नयाँ पुस्ताको हातमा बैधानिक तवरले राखिदिंदै, आफ्नो उमेर र अवस्थाको ख्याल गर्दै, राजनीतिमा नयाँ नजिर र आयाम थप्न सक्रिय राजनीतिबाट बिश्राम लिएर पार्टीको र देशको कुसल र भरपर्दो अभिभावक बन्नु पर्छ । राजनीतिमा एउटा मान्यता स्थापित गर्न पार्टीमा मात्र हैन पार्टी बाहेककाको हकमा पनि नैतिक दवाव दिन सामयिक र उमेर सुहाउँदो भूमिका मापनको मापदण्डको लागि त्याग र उदाहरण अनि उदारता आवश्यक छ । इतिहासले देउवालाई एउटा सुखान्त विश्रामको अवसर दिएको छ यसको भरपुर उपयोग गरुन । फेरि यस्तो सुखान्त अवसर र सुयोग नमिल्न सक्छ नआउन सक्छ ।