तेस्रो स्थानका लागि सोमबार भएको ‘प्लेअफ’मा नेपालले हङकङलाई ३६ रनले हरायो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन बनाएको थियो । पूर्वकप्तान नेरी थापाले ३४ बलमा ३८ रन बनाएको इनिङस्मा वर्तमान कप्तान रुबिना क्षत्रीले १० बलमा अविजित रहँदै १५ रन जोडिन् ।
जवाफमा हङकङले एक बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर ५८ रनमात्र बनाउन सक्यो ।
दुई खेलाडीलेमात्र दोहोरो अंक जोडेको इनिङस्लाई ध्वस्तै पार्नेक्रममा १४ रनसमेत बनाएकी करुणा भण्डारीले १० रन खर्चेर ३ विकेट लिइन् ।
यो खेल जिते पनि नेपाल शीर्ष दुईमा पर्न नसक्दा विश्वकप छनोटको अर्को चरणमा भने प्रवेश गर्न पाएन ।
अर्को चरणमा पुगेका थाइल्यान्ड र युएईबीचको पहिलो स्थानका लागि सोमबारै भएको भिडन्तमा थाइल्यान्ड २२ रनले विजयी भयो । थाइल्यान्डले ७८ रन बनाउन सकेका अवस्थामा युएईले ५६ रनमात्र जोड्यो ।
६ टिमले सहभागिता जनाएको प्रतियोगितामा नेपालले मलेसिया र चीनलाई हराउँदा युएईसँग पराजित भएको थियो ।
वर्षाले गर्दा थाइल्यान्ड र हङकङसँगको खेल भने रद्द भएको थियो ।









प्रतिक्रिया दिनुहोस्