
बिराज रोस्यारा (इमेज)
कैलाली, पुस १० । कैलालीको मोहन्याल गाउँपालिकामा आर्थिक अनियमितता भएको आरोप लागेको छ ।
गाउँपालिकामा आर्थिक अनियमितता भइरहेको आरोप उपाध्यक्ष पूजादेवी बुढामगरले नै लगाएकी हुन् ।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले संवैधानिक विधि र प्रक्रियालाई मिचेर अगाडि बढ्ने काम गाउँपालिकामा भइरहेको दाबी गरिन् ।
उपाध्यक्ष बुढामगरले आर्थिक वर्ष २०७४/०७५ मा विनियोजित बजेटको उपभोक्ता समितिले अन्तिम किस्ता भुक्तानी लिँदा सार्वजनिक सुनुवाइ नगरिएको र वडाध्यक्षहरुले आर्थिक चलखेल गरी सिफारिस दिएको आरोप लगाइन् ।
आफ्नो संयोजकत्वमा रहेको अनुगमन समिति र कार्यपालिकाको बैठकमा समावेश नगरी आन्तरिक लेखापरीक्षण तथा महालेखापरीक्षण प्रमुख प्रशासकीय अधिकृतले गराएको उनको भनाइ छ ।
कार्यपालिकाका सदस्यहरुले सार्वजनिक सुनुवाइका लागि कार्यपालिका बैठकमा ज्ञापनपत्र बुझाउँदा वडा नम्बर–२, ४, ६ र ७ का अध्यक्षहरु क्रमशः देवीदत्त उपाध्याय, टेकबहादुर बोगटी, टीकाराम भण्डारी र खरप्रसाद अधिकारीले त्यसको प्रतिवाद गरेको पत्रकार सम्मेलनमा आरोप लगाइयो ।
उपाध्यक्ष बुढामगरले गाउँपालिकामा फर्जी बिल, भर्पाइ गरेर आर्थिक अनियमितता भएको दाबी गरिन् ।
पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य विशाल पहराईले आर्थिक अनिमितताका कारण गाउँपालिकाको कार्यालय डामाडोल रहेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्