Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कांग्रेसले चुनाव जितिसक्यो अब विधि पुर्‍याउन बाँकी छः प्रकाशमान सिंह


0
Shares

नेपाली कांग्रेस बौद्धिक तथा व्यवसायिक चुनाव प्रचारप्रसार समितिले काठमाडौंको बानेश्वरमा शनिवार आयोजना गरेको बौद्धिक व्यवसायिक भेलालाई संबोधन गर्दै पूर्व उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

“काठमाडौंका प्रबुद्ध मतदाताले चुनावी मैदानमा उत्रिएका सबै उम्मेद्वारहरुको विगत,वर्तमान, कार्यक्षमता, दक्षता, योग्यता र भविश्यमा गर्न सक्ने कामका बारेमा मूल्यांकन गरिसकेका छन्” नेता सिंहले भने ,“चुनाव कांग्रेसले जितिसक्यो, विधि पुर्याउन मात्र बाँकी छ, मंसिर २१ गतेको निर्वाचन परिणामले नै देखाउछ ।”

नेता सिंहले नेपाली कांग्रेसका उम्मेदवार अरु पार्टीका उम्मेद्वार भन्दा धेरै अगाडि भएको उल्लेख गर्दै निर्वाचन प्रचार अभियानका क्रममा मतदाताले राखेका गुनासोलाई आफूले राम्रोसंग सुनेका र जनताकालागि अरु बढी काम गर्ने उत्साह र उमंग लिएर आएको उल्लेख गरे ।

उनले यो निर्वाचनमा नेपाली जनमत लोकतन्त्रको पक्षमा आउने र जसको नेतृत्वमा संविधान आयो कार्यान्वयनको जिम्मा पनि त्यसैलाई दिनुपर्ने आवश्यकतालाई नेपाली जनताले बुझिसकेको बताए ।

उनले नेपाली कांग्रेसले जे निर्णय गर्छ त्यो गरेरै देखाउने क्षमता रहेको उल्लेख गर्दै भने,“२००६ सालमा बैरगनिया सम्मेलनबाट राणाशासनको अन्त्य गर्न सशस्त्र आन्दोलन गर्ने निर्णय भयो, २००७ सालको क्रान्तिले राणा शासन ढालियो ।”

उनले २०४६ सालको जनआन्दोलनको चर्चा गर्दै भने ,“हाम्रै निवास चाक्सीबारीमा भएको नेपाली कांग्रेसको सम्मेलनले पञ्चायती तानाशाहीका विरुद्धमा आन्दोलन गर्ने निर्णय गर्‍यो र आन्दोलनले पञ्चायत ढालेर बहुदलीय व्यवस्था पुनस्थापना गर्‍यो ।” उनले भने, “ढिलोचाडो होला, जेलनेल खाइएला,दुःख होला तर कांग्रेसले निर्णय गरेपछि पुर्‍याएरै छोड्छ ।”

नेता सिंहले स्थापनाकालदेखि नै नेपाली कांग्रेसले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन, लोकतन्त्रको स्थापना गर्न र देशलाई विकास तथा समृद्धिको मार्गमा लैजान गर्व गर्न लायक काम गरेको उल्लेख गरे ।

काठमाडौं क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेद्वार समेत रहेका सिंहले नेपाली कांग्रेसले नै १२ बूँदे संझौता गरी द्धन्द्धमा रहेको मुलुकलाई शान्तिमा ल्याएको र २०६२/६२ को आन्दोलन पछि शान्तिपूर्ण रुपमा मुलुकमा गणतन्त्र स्थापना गरेको पनि चर्चा गरे ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ बाट प्रदेश सभा (क)का उम्मेदवार दीपेन्द्र श्रेष्ठ, (ख) का उम्मेदवार सूरजचन्द्र लामिछाने, नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष प्रा. केशवानन्द गिरि, पूर्व सचिव माधव रेग्मी, इञ्जिनियर्स एशोसियसनका पूर्व अध्यक्ष किशोर शाक्य, वरिष्ठ अधिवक्ता अमरराज कैनी, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा।आनन्द श्रेष्ठ र बौद्धिक तथा व्यवसायिक समूह चुनाव प्रचार समितिका सहसंयोजक प्रा. विष्णु सापकोटाले पनि यसपटकको निर्वाचन लोकतान्त्रिक र अधिनायकबादी व्यवस्था बीचको चयनका रुपमा आएकोले नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी बनाउन मन, वचन र कर्मले सघाउनुपर्ने बताएका थिए ।

वक्ताहरुले जसले यो संविधान बनायो, उसैलाई कार्यान्वयनको जिम्मेवारी दिनुपर्ने र राजनीतिक व्यवस्थालाई स्थायित्व दिदै विकास र समृद्धिलाई अगाडि बढाउन कांग्रेसलाई अत्यधिक मतले विजयी बनाउन आग्रह गरेका थिए ।

समितिका संयोजक तथा त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्रा. चूडाराज उप्रेतिको सभापतित्वमा भएको सो कार्यक्रम समानुपातिक उम्मेदवार कल्याणी रिमाल, शान्ता ढकाल, राजेन्द्र गुरुड, रवि श्रेष्ठ सहित प्राध्यापक, डाक्टर, अधिवक्ता, इञ्जिनियर, योजनाविद् पूर्व कर्मचारी, समाजसेवी, पूर्वराजदूतहरुको उपस्थिति रहेको थियो ।

Skip This