२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्र बैंकद्वारा चार महिनाको आर्थिक स्थिति सार्वजनिक


0
Shares

काठमाडौं, पुस ९ । चालू आर्थिक वर्षको चौथो महिनामा मूल्यवृद्धि ४.२ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मूल्यवृद्धि अघिल्लो वर्षको यसै अवधिको तुलनामा केही बढेको जनाइएको हो ।

अघिल्लो वर्षको यसै अवधिमा मूल्यवृद्धि ३.९ प्रतिशत रहेको थियो । अघिल्लो महिना भने ४.७ प्रतिशत रहेको थियो ।

खासगरी खाद्य तथा खाद्यजन्य पदार्थ, यातायात, घरायसी सेवा तथा उपयोगिता र लत्ताकपडा आदिको मूल्य बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति केही बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भएको छ भने शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ ।

यस अवधिमा सरकारको नगद प्रवाहमा आधारित कुल खर्च १७.५ प्रतिशतले र राजश्व संकलन ३०.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

चार महिनामा कुल वस्तु निर्यात ११ प्रतिशतले वृद्धि भइ २९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

कुल वस्तु आयात ३५.८ प्रतिशतले बढेर ४८३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात १८.१ प्रतिशतले बढेको थियो ।

चालू आवका चार महिनामा कुल वस्तु व्यापार घाटा ३७.८ प्रतिशतले विस्तार भइ ४५४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।