१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ फेरि भ्रष्टाचारी ठहर, सात वर्षको जेल सजाय


0
Shares

काठमाडौं, पुस ९ । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको नयाँ मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ ।

सोमबार इस्लामावादको एक अदालतले सरिफविरुद्ध आम्दानीको तुलनामा अधिक सम्पत्ति जोडेको मुद्दामा दोषी ठहर गरेको हो ।

यो मुद्दा अल अजिजिया स्टील मिल्स्सँग जोडिएको थियो ।

गत जुलाईमा सरिफलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाइएको थियो ।

सरिफ जेलमा रहँदा भएको चुनावमा उनको पार्टी पराजित भएको थियो ।

इमरान खान प्रधानमन्त्री भएको केही दिनमै इस्लामावाद उच्च अदालतले सरिफलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो । सरिफका परिवारले भ्रष्टाचारका विभिन्न मुद्दा सामना गरिरहेका छन् ।

सोमबार भएको फैसलापछि सरिफको पार्टीले विरोध प्रदर्शनको घोषणा गर्दै उनलाई जेल पठाइए संसदीय कारबाही प्रभावित पार्ने चेतावनी दिएको छ । (एजेन्सी)