२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


सुडानमा मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै


0
Shares

काठमाडौं । सुडानमा उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै गएको छ ।

राजधानी खार्तोमको एक रंगशालामा भेला भएका हजारौंले सडक अवरुद्ध गरी प्रदर्शन गर्नुका साथै केही सरकारी भवनमा आगजनीसमेत गरेका छन् ।

प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले कयौं सेल अश्रुग्यास प्रयोग गरेको छ ।

सोही क्रममा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । सुडानमा पछिल्लो समय उपभोग्य बस्तुको मूल्य ७० प्रतिशतले बढेपछि त्यहाँका जनता मूल्यवृद्धि घटाउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनका विपक्षी पार्टीका नेता कार्यकर्तालगायत विभिन्न संघसंस्थामा आबद्ध भएकाहरु संलग्न छन् ।

सुडानको विपक्षी पार्टी उम्माका नेता सदिक अल मादीले राष्ट्रपति ओमार अल बसिरले जनताका माग सम्बोधन गर्नुपर्ने बेलामा प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

उनले जनताले उठाएका माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

गत बुधबारदेखि जारी प्रदर्शनमा हालसम्म २० जनाको मृत्यु भइसकेको जनाइएको छ । (एजेन्सी)