२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


विधान विवादका कारण कांग्रेस महासमिति बैठक नै लथालिंग अवस्थामा


0
Shares

काठमाडौं, पुस ५ । प्रस्तावित विधान मस्यौदामा देखिएको विवाद मिलाउन नसक्दा नेपाली कांग्रेसको महासमिति बैठक नै लथालिंग अवस्थामा पुगेको छ ।

बैठकको समापन कहिले हुने भन्ने टुंगो नलाग्दा काठमाडौंको रामशाहपथस्थित पार्टी प्यालेसबाट महासमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सारिएको छ ।

तर, विधानको विवादमा निकास खोज्न डाकिएको केन्द्रीय कार्यसमितिको बैठक नै बस्न नसक्दा बिहीबार महासमिति बैठक पनि प्रभावित बन्यो ।

अपराह्न ५ बजेपछि सुरु भएको बैठक करिब एक घन्टा बसेर शुक्रबार (भोलि)सम्मका लागि स्थगित गरिएको छ ।

केन्द्रीय समिति बैठकबाट संशोधित विधान मस्यौदामा सहमति खोज्ने प्रयास भने जारी रहेको छ ।

गत मंगलबार कांग्रेस शीर्ष नेताहरुबीच उपसभापति, महामन्त्री र सहमहान्त्री दुई/दुईजना राख्ने र कोषाध्यक्षबाहेक सबै निर्वाचित हुने सहमति भएको थियो ।

तर, बुधबार दिउँसो बसेको केन्द्रीय कार्यसमिति बैठकमा विधान संशोधन भएपछि सभापति शेरबहादुर देउवापक्षीय केन्द्रीय सदस्यहरुले विधान समावेशी नभएको भन्दै विरोध गरेका थिए ।

सभापतिनिकट नेताहरुले एकाएक समावेशीको मुद्दा उठाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले सभापतिबाटै धोका भएको निष्कर्ष निकालेका छन् ।