२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


एउटा सांसदले चाहेमात्र पनि एक वर्षमै यसरी फेरिन्छ गाउँको मुहार


0
Shares

एउटा सांसदले चाहेमात्र पनि कुनै गाउँले एक वर्षमै विकास निर्माणमा कायापलट गर्न सक्छ भन्ने एउटा गतिलो उदाहरण छिमेकी मुलुक भारतको गुजरात राज्यको चिखली गाउँ बनेको छ ।

यो गाउँमा दुईवर्ष अघिसम्म मानिसहरु भौतिक सुविधाका लागि तड्पिने गरेका थिए । बाटो, खानेपानी, विद्युतको पहुँचबाट टाढा रहेको यो गाउँ अहिले आदर्श गाउँ बन्ने तयारीमा छ । एक वर्षको अवधिमै यो गाउँका ४५० घरमा खानेपानीको धारा जडान भइसकेको छ भने प्रत्येक घरमा शौचालय बनेको छ । गाउँमा एउटा शानदार पार्क बनेको छ भने सडकमा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

यो गाउँको विकासमा सांसद सीआर पाटिलको अहम् योगदान छ । नवसारी जिल्लामा पर्ने यो गाउँलाई सांसद पाटिलले एक वर्षअघि जिम्मा लिएरै विकास निर्माणका काम अघि बढाएका हुन् ।

उनले गाउँको विकासका लागि एक वर्षमा जम्मा तीन करोड रुपैयाँ खर्च गरेका छन् भने करिब अढाइ करोड रुपैयाँ ग्राम पञ्चायतले खर्च गरेको छ ।

सडकमा सौर्य प्यानलबाट विद्युतीकरण गरिएको छ, जसले गर्दा राति सबैजसो सडकमा बत्ती बल्छन् । गल्ली–गल्लीमा पिच गरिएको छ भने नदी किनारलाई हरियाली बनाइएको छ । कुनैबेला यो गाउँमा नयाँ आगन्तुक जान हिच्किचाउने गर्दथ्यो भने अहिले यो गाउँको विकास निर्माणको नमूना अध्ययनका लागि छरछिमेकका जिल्लाबाट समेत मानिस आउन थालेका छन् । (एजेन्सी)