२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


भगौडा सैनिकका कारण दक्षिण र उत्तर कोरियाको सीमा क्षेत्रमा गोली हानाहान


0
Shares

उच्च सुरक्षा व्यवस्था भएको कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला उत्तर कोरियाली भगौडा सैनिकका कारणदुबै देशका फौजले गोली प्रहार गरेका हुन् ।

स्थानीय समय अनुसार बिहानको ८ बजे बाक्लो हुस्सु लागेको समयमा भएको पछिल्लो घटनामा ती उत्तर कोरियाली सैनिकले सीमा क्षेत्रको मध्य भाग नाघेका थिए ।

त्यसको लगत्तैपछि उत्तर कोरियाली फौजहरु ती भगौडा सैनिक खोज्दै उत्तर र दक्षिण कोरिया छुट्याउने सीमा रेखा नजिकैको क्षेत्रमा आएका थिए । त्यसको जवाफमा दक्षिण कोरियाली सुरक्षाकर्मीले चेतावनी स्वरुप २० पटक गोली चलाएको दक्षिण कोरीयाली अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसको आधा घण्टापछि उत्तरबाट पनि गोली चलेका आवाजहरु सुनिएका छन् । अघिल्लो महिना सीमा क्षेत्रमा लखेटेर एकजना उत्तर कोरियाली सैनिकलाई आफ्नै साथीहरुले गोली हान्दा उनी गम्भिर घाइते भएका थिए । गोलीले दूवैतर्फका सीमा क्षेत्र ननाघेको ठानिएको छ ।

ती भगौडा सैनिकलाई दक्षिण कोरियाली अधिकारीहरुले सोधपुछ गरिरहेका छन् ।

दक्षिण कोरियाली तथ्यांक अनुसार यस वर्ष ४ सैनिक सहित १५ जना उत्तर कोरियालीले देशबाट भाग्ने क्रममा उक्त क्षेत्र पार गरेका छन् । यो संख्या अघिल्लो सालको भन्दा तीन गुणा धेरै भएको बताइन्छ । एजेन्सी