निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउने काम गरिरहेको छ ।
जग्गा सम्याउन डोजर, एक्साभेटर, लोडर र टिपरको प्रयोग भइरहेको आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए ।
कम्पनीका प्रमुख जेरी याङकाअनुसार यस वर्षको हिउँदसम्ममा विमानस्थलको जग्गा सम्याउने काम सम्पन्न गरिनेछ । जग्गा सम्याएपछि टर्मिनल भवन र धावनमार्ग निर्माणको काम अघि बढाइनेछ ।
अहिले १०० जनाभन्दा बढी चिनियाँ प्राविधिक र नेपाली कामदार विमानस्थलको काममा खटिएका छन् । कम्पनीले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण सकेको छ ।
चिनियाँ एक्जिम बैंकको करिब रु २२ अर्बको ऋण सहयोगमा निर्माण सुरु गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० को जुलाईसम्ममा सक्ने लक्ष्य राखिएको छ ।
वि.सं. २०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । नपुग भएपछि ६२९ रोपनी जमिन थप अधिग्रहण गरिएको हो । रासस









प्रतिक्रिया दिनुहोस्