भूकम्प गएको तीन वर्ष हुन लाग्यो । रानीपोखरी निर्माण त कता हो कता अहिले पुनःनिर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाको व्यवहारका कारण यसले आफ्नो मौलिकपन गुमाउने अवस्थामा पुगेको छ ।
रानीपोखरी मल्लकालीन सभ्यताको जीवित धरोहर हो । मल्लराजा प्रताप मल्लले छोराको निधनमा शोकमा डुबेकी रानीलाई सम्झाउन निर्माण गरिदिएको सम्पदा हो, यो ।
प्रताप मल्लले रानीपोखरीका साथै बीचभागमा एउटा शिखर शैलीको मन्दिर पनि बनाउन लगाएका थिए ।
पटक–पटक आएको भूकम्पमा परेर आफ्नो पुरानो शिखर शैलीको स्वरुप गुमाएको रानीपोखरीको मन्दिर पछिल्लोपटक २०७२ सालको भूकम्पका कारण नासिएपछि पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिकाले निर्माणको जिम्मा पाएको छ ।
उसले ठेकेदारसमेत नियुक्त गरेर काम त लगाएको छ । तर, अहिले रानीपोखरीको चारैतिर सिमेन्टको आरसीसी गरेर पौडी पोखरी बनाउन खोजिएको भन्दै आपत्ति जनाइएको छ ।
पुरातत्व, वातावरण र सम्पदाविद्समेतले महानगरपालिकाले बनाउन लागेको शैलीप्रति आपत्ति जनाएका छन् । र, पोखरीको चारैतिर सिमेन्ट लगाउने र पोखरीलाई साँघुर्याउँदै त्यहाँ कफीसपसमेत खोल्न दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको भनाइ आएपछि सर्वत्र आलोचना भएको छ ।
यो विवाद अब महानगरपालिकाभित्रै पनि बल्झेको छ । मेयरको यस कदमप्रति स्वयं उपमेयर हरिप्रभा खड्गीले आपत्ति जनाएकी छन् । र, उनले मंगलबार बिहान केही संरक्षणविद्समेतलाई लिएर गइ निर्माणस्थलमा ताला लगाइदिएकी छन् । उपमेयरको उक्त कदमप्रति मेयर शाक्यले दिउँसो पुगेर ताला तोडेका छन् ।
महानगरपालिकाको निर्णय र कार्यशैलीप्रति सर्वत्र आलोचना हुँदा निर्णय सच्याएर पुरानै स्वरुपमा रानीपोखरी निर्माण गर्ने बाटोमा मेयर शाक्य अझै पुगेका छैनन् । बरु, ताला तोड्दै आफ्नो निर्णयको बचाऊ गरेका छन् ।
काठमाडौं महानगरपालिका, पुरातात्विक विभागको खाकाअनुसार काम भइरहेको दाबी मेयर शाक्यले गरेपनि उपमेयर खड्गीले भने रानीपोखरी पुनःनिर्माणमा मेयर शाक्यको एकल निर्णय लादिएको दाबी गरेकी छन् ।
यसअघि मन्दिरकै निर्माणमा पनि सिमेन्ट र रड प्रयोग गरी पिल्लर उठाइएकोमा व्यापक आलोचना गरिएपछि महानगरले पुरानै शैलीमा मन्दिर बनाउने जनाएको थियो ।
तर, अहिले फेरि पोखरीमा कंक्रिट प्रयोग गरिनु र सर्वत्र आलोचना हुँदा पनि रोक्ने पहल नथाल्नुले महानगरको नेतृत्वले परम्परागत संस्कृति र सम्पदा भावी पुस्तालाई कस्तो सुम्पिएर जान चाहेका छन् भन्ने प्रश्न उठेको छ ।









प्रतिक्रिया दिनुहोस्