पोखरा सडक महोत्सवको भव्य तयारी, यस्तो हुँदैछ महोत्सव • Image Khabar Image Khabar


पोखरा सडक महोत्सवको भव्य तयारी, यस्तो हुँदैछ महोत्सव


Imagekhabar
११ पुष २०७४, मंगलवार १९:३६

पोखरा सडक महोत्सवको भव्य तयारी, यस्तो हुँदैछ महोत्सव

आयोजक रेवान पोखराले अंग्रेजी नयाँवर्ष २०१८ को अवसरमा हुने महोत्सवको मंगलबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो ।

महोत्सवका लागि पोखरा पर्यटकीयस्थलको करिब साढे तीन किलोमिटर क्षेत्रलाई दुलहीझैं सिंगारिएको छ ।

महोत्सवको बेला रेस्टुरेन्ट तथा पसलहरुले पनि सडकबाटै सेवा दिने रेवान अध्यक्ष चौबहादुर गुरुङले बताए ।

महोत्सवमा आन्तरिकदेखि बाह्य पर्यटकको ठूलो भीड लाग्ने हुँदा सोहीअनुसार व्यवस्थापन गरिएको रेवानका पूर्वअध्यक्ष गोपी भट्टराईले बताए ।

महोत्सव अवधिभर सो सडकमा कुनै किसिमका सवारी–साधन सन्चालन नहुने र ठाउँठाउँमा विभिन्न किसिमका साँस्कृतिक कार्यक्रमका साथ कन्सर्टको व्यवस्थासमेत मिलाएको उनले जानकारी दिए ।

व्यवसायीले महोत्सवको अवसरमा विभिन्न खानाका परिकार सडकबाटै पस्कनेछन् । ग्राहकले आँखैअगाडि बनाइने खानाका परिकारहरुको स्वाद चाख्न पाउनेछन् ।

यतिबेला यहाँका होटलहरु भरिभराउ भएका छन् । सानादेखि तारे होटलमा अग्रिम बुकिङ भइसकेको पर्यटन व्यवसायी नरेश भट्टराईले जानकारी दिए ।

महोत्सवमा जापान, चीन, दक्षिण कोरिया र भारतका साँस्कृतिक कार्यक्रमहरु मुख्य आकर्षणकारुपमा रहेको आयोजक बलराम पहारीले बताए ।

नेपालका सातओटै प्रदेशका साँस्कृतिक कार्यक्रमहरुले तीन किमि क्षेत्रदेखि स्टेजसम्म आफ्नो संस्कृति पस्कनेछन् ।

प्रदेश नम्बर–१ बाट सतार जातिको साँस्कृतिक कार्यक्रम, प्रदेश–२ बाट मैथली कार्यक्रम, प्रदेश–३ बाट नेवार जातिको, ४ बाट गुरुङ, ५ बाट बर्दियाको थारु जाति, ६ बाट हुम्लाको हुम्लेली जातिको र ७ बाट डडेल्धुराको देउडा जातिको साँस्कृतिक कार्यक्रम एकै स्थानमा हेर्न पाइने जनाइएको छ ।

सोही अवसरमा छिमेकी ६ जिल्लाबाट उत्पादित सुन्तला तथा कृषिजन्य पदार्थको प्रदर्शनी, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुनेछन् ।

पोखरामा ६०० भन्दा बढी होटलमा दैनिक २२ हजार पाहुनालाई सेवा दिने क्षमता छ । पोखराको पर्यटनमा निजी क्षेत्रकोमात्रै एक खर्ब रुपैयाँभन्दा बढी लगानी पुगेको छ ।

घुमफिर र प्राकृतिक छटाहरुको अवलोकनबाहेक पछिल्ला केही वर्षयता पोखरा पाराग्लाइडिङ, बन्जीजम्प, अल्ट्रालाइट, क्यानोनिङजस्ता साहसिक खेल पर्यटनको गन्तव्यसमेत बनेको छ ।

सडक महोत्सवबाट पोखराका होटल तथा महोत्सवस्थलमा गरी झन्डै ५० करोड रुपैयाँ कारोबार हुने अनुमान छ ।

यहाँका २२ हजार बेड भरिभराउ हुँदा एकैदिन ४ करोड ४० लाख रुपैयाँ कारोबार हुन्छ । सोहीक्रममा खाना र खाजालगायत अरु क्रियाकलापबाट ठूलै मात्रामा आर्थिक कारोबार हुने जनाइएको छ ।

महोत्सवबाट विभिन्न क्षेत्रका व्यवसायीहरु एअरलाइन्स, ट्राभल एजेन्सी, बस, बन्जीजम्प, पाराग्लाइडिङ, जिप फ्लायरमा पनि राम्रो कारोबार हुने व्यवसायी जीवन भट्टराईले बताए ।

महोत्सवमा पोखरामा ‘साइट सिन’ गर्नेहरुका लागि हेलिकोप्टरकोसमेत व्यवस्था गरिएको उनले बताए ।

पोखरा सडक महोत्सवको भव्य तयारी, यस्तो हुँदैछ महोत्सव

पोखरा सडक महोत्सवको भव्य तयारी, यस्तो हुँदैछ महोत्सव

प्रतिक्रिया दिनुहोस्