Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


कंक्रिट प्रयोग गरी रानीपोखरी जीर्णोद्धार गर्न स्वीकृति दिइएको छैन : पुरातत्व विभाग


0
Shares

कंक्रिटबाट भवन निर्माण गर्ने प्रचलन विश्वव्यापी भएसँगै त्यसको असरकारुपमा नेपालमा पनि कंक्रिट अथवा ढलान गरेर भवनमात्र नभइ भूकम्पबाट क्षतिग्रस्त मठ, मन्दिर तथा पुरातात्विक वस्तुको निर्माण गर्ने होड बढ्दै गएको बेला पुरातत्व विभागको उक्त धारणा बाहिर आएको हो ।

रासससँग कुरा गर्दै पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले परम्परागत शैलीबाट निर्माण भएका मन्दिर, पाटी–पौवा, बौद्ध–विहार ४०० वर्षदेखि जीवित धरोहरकारुपमा रहेको देख्न सकिने प्रस्ट पारे ।

उनले परम्परागत शैली तथा सामग्री प्रयोग गरी निर्माण भएका त्यस्ता मन्दिर तथा सत्तल नेपालमा बारम्बार गइरहेको शक्तिशाली भूकम्पबाट पनि केही नभएका थुप्रै उदाहरण रहेको बताए ।

कुँवरले थपे–‘कंक्रिटबाट बनेको भवन पनि धेरै भत्केको हाम्रो आँखासामू धेरै उदाहरण छ ।’

परम्परागत सामग्री तथा शैली प्रयोग गरेर हाम्रा पुर्खाले छाडेर गएको अमूल्य सम्पदालाई मौलिकता नबिग्रने गरी संरक्षण गर्ने नीति विभागले लिएको उनले प्रस्ट पारे ।

परम्परागत सामग्री तथा कामदार पाइन्छ कि पाइँदैन भनी जिज्ञासा राख्दा बज्र, इँटा, माटो, काठका सामग्री प्रशस्त पाइने तथा पुरानो बुट्टादार झ्याल–ढोका, खापा आदि प्रयोग गर्न सकिने भएकाले कुनै समस्या नभएको उनले जानकारी दिए ।

वि.सं. २०७२ को भूकम्पबाट देशभरका कुल ८०० पुरातात्विक महत्वको सम्पदामा क्षति पुगेको थियो । जसअनुसार १५० ओटा सम्पदामा पूर्णक्षति तथा बाँकीमा सामान्य क्षति भएको विभागको भनाइ छ ।

सो विभागकाअनुसार ती सबै सम्पदा पुनःनिर्माणकार्य सम्पन्न गर्न ६ वर्ष लाग्ने अनुमान छ ।

तीमध्ये हालसम्म ६५ ओटा मन्दिर तथा विहार पुनःनिर्माण गर्ने कार्य सम्पन्न भइसकेको छ भने १५० भन्दा बढी सम्पदाको जीर्णोद्धारकार्य जारी रहेको छ ।

चाँगुनारायण, किलेश्वर महादेव, भक्तपुरको नारायण मन्दिर, खमगेट, बद्रीनाथको जीर्णोद्धारकार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै, ललितपुरको योगनरेन्द्र मल्लको स्तम्भ, तलेजु मन्दिर, आगछेँ, काठमाडौंको हनुमानढोकाको देगु तलेजु, आगछेँको पनि निर्माणकार्य सम्पन्न भइसकेको छ ।

विभागकाअनुसार स्वयम्भू महाचैत्यमा रहेको अनन्तपुर र प्रतापपुर, तासी गुम्बा, शान्तिपुर पनि निर्माणकार्य सम्पन्न भइसकेको छ । शान्तिपुरको निर्माणकार्य युनेस्कोको आर्थिक सहयोगमा जीर्णोद्धार भएको हो ।

त्यस्तै, बौद्धनाथ, कीर्तिपुरका विभिन्न मन्दिर तथा सत्तल, गोरखाको गोरखनाथ तथा पण्डित पाटी पनि जीर्णोद्धार सम्पन्न भइसकेको छ । गोरखा दरबारको भने जीर्णोद्धार जारी रहेको बताइएको छ ।

प्रवक्ता कुँवरकाअनुसार ललितपुरमा रहेको रातो मच्छिन्द्रनाथको बुंगमतीस्थित मन्दिर तथा काठमाडौंको गद्दी बैठकको जीर्णोद्धारकार्य जारी रहेको र यो दुई वर्षमा पूरा हुने लक्ष्य रहेको छ । बुंगमतीमा हाल जगको काम सम्पन्न भइसकेको छ ।

त्यस्तै, भक्तपुरको बसल्ला देवी, फसी देगः, सिद्धिलक्ष्मी, हरिहर सत्तलमा जीर्णोद्धारकार्य भइरहेको उनले जानकारी दिए ।

प्रवक्ता कुँवरले काष्ठमन्डपको जीर्णोद्धारकार्य विवादका कारण हालसम्म सुरु हुन नसकेको, तरपनि यसको पुनःनिर्माण कार्य काठमाडौं महानगरपालिकाले गर्ने भन्ने कुरा भइरहेको जानकारी दिए । यसका लागि विभागले नक्सा ड्रइङ गरी नगरपालिकालाई पठाइसकेको छ ।

रानीपोखरीमा भइरहेको विवादमा जिज्ञासा राख्दा उनले पुरातत्व विभागले कंक्रिट प्रयोग गरी रानीपोखरी जीर्णोद्धार गर्न काठमाडौं महानगरपालिकालाई स्वीकृति नदिइएको स्पस्ट पारे ।

उनले नुवाकोट, दोलखा, काभ्रे, सिन्धुपाल्चोकका विभिन्न मन्दिर तथा पाटी–पौवाको जीर्णोद्धार भइरहेको जानकारी दिए ।

प्रवक्ता कुँवरले ‘काठमाडौंका नेवार समुदाय विशेषगरी लिच्छवी तथा मल्लकालमा विकास भएका साँस्कृतिक सम्पदा नै नेपालीको पहिचान हो’ भन्दै पुर्खाको यो महत्वपूर्ण सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिए । रासस