बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तुको तौलिहवाबाट लुम्बिनीसम्म जाने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्न सहज हुने भएको हो । भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडक स्तरोन्नति थालिएको छ ।
सासेक सडक सुधार आयोजना भैरहवा लुम्बिनी तौलिहवा सडक योजनाका प्रमुख राजेशप्रसाद पौडेलले सडकको प्रारम्भिक चरणको काम शुरु भएको बताए । उनले पहिलो चरण अन्तर्गत उक्त सडक दायाँबायाँ पुर्ने कार्य सुरु भइसकेको बताउँदै सडकको दायाबायाँ पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामको प्रक्रिया अघि बढाइएको बताए ।
भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चोकसम्मको बाटोलाई स्तरोन्नति गरी ६ लेनको बनाईदै छ । यस्तै एयरपोर्ट चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोकसम्म ४ लेनको बनाउन लागिएको छ ।
भैरहवादेखि लुम्बिनीसम्मको सडक अहिले २ लेनको छ । त्यसैगरी लुम्बिनीदेखि तौलिहवासम्मको सडक २ लेनको बनाईदै छ । उक्त सडक अहिले एक लेनको छ ।
सडकको केन्द्र भागदेखि ठाउँ अनुसार दायाँबायाँ गरी चौडा बनाइने छ । सडकको काम आगामी दुई वर्ष अर्थात २०१९ डिसेम्बर २२ मा सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको यो सडकको लागत एक अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्