२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


यो वर्ष पूर्वान्चलमा राज्यपक्षबाट ६, गैरराज्यपक्षबाट ५४ जनाको हत्या


0
Shares

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आइतबार आयोजित पूर्वान्चलमा मानवअधिकारको अवस्था सार्वजनिकीकरण कार्यक्रममा जनवरी १ देखि डिसेम्बर महिना (२०७३ साल पुस १७ देखि २०७४ पुस १० गते)सम्ममा ६० जनाको हत्या भएको तथ्यांक प्रस्तुत गरिएको छ ।

उक्त अवधिमा गैरराज्यपक्षबाट २५ महिला र २९ पुरुष गरी ५४ जनाको हत्या भएको छ भने राज्यपक्षबाट ६ जना पुरुषको हत्या भएको जनाएको छ ।

एक वर्षको अवधिमा मानवअधिकार हनन र ज्यादतीका १०५९ जना पीडित भएको छ । तीमध्ये राज्यपक्षबाट ५३ पुरुष र तीन महिला गरी ५६ जना र गैरराज्यपक्षबाट ८३८ महिला र १०८ पुरुष गरी १००३ जना पीडित भएको प्रस्तुत तथ्यांकमा उल्लेख छ ।

यस्तै, सो अवधिमा बलात्कारको घटनामा १०१ महिला पीडित भएका छन् भने बलात्कारको प्रयासबाट ५४, यौनजन्य दुव्र्यवहारबाट २८, बहुविवाहमा ६८, मानव बेचबिखनमा २०, बोक्सीको आरोपमा अमानवीय व्यवहारवाट पाँच र घरेलु हिंसाबाट २६७ जना महिला पीडित भएको उल्लेख छ ।

सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोग पूर्वान्चलका निर्देशक मञ्जु खतिवडाले मानवअधिकारको उल्लंघनको घटना वृद्धि हुनु चिन्ताको विषय भएको बताउँदै यसलाई न्यूनीकरण गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिइन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले राज्यले स्रोत र साधनको अधिकतम प्रयोग गरी मानवअधिकार संरक्षणका लागि कार्य गरिरहेको चर्चा गर्दै वर्तमान संविधान मानवअधिकार मैत्री रहेको धारणा व्यक्त गरे ।

इन्सेकका पूर्वान्चल संयोजक सोमराज थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेल र इन्सेक मोरङका प्रतिनिधि इन्दिरा भट्टराईले पूर्वान्चलमा मानवअधिकार उल्लंघनका भएका घटनाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । रासस