२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


राष्ट्रिय ह्यान्डबलमा पश्चिमाञ्चलको विजयी सुरुआत


0
Shares

पोखरा रंगशालामा भएको १८औं पुरुष ह्यान्डबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम पश्चिमाञ्चल विकास क्षेत्रले विजयी सुरुआत गरेको छ ।

पश्चिमाञ्चलले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३०–२२ गोलले पराजित गरेको हो ।

खेलको दोस्रो मिनेटमै सशस्त्रका गोलरक्षक रामबाबु यादवले रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

पुरुषतर्फको अन्य खेलमा त्रिभुवन आर्मी क्लबले दुई खेलमै जित हासिल गरेको छ भने मध्यमाञ्चलले एक खेलमा जित हासिल गरेको छ ।

पहिलो खेलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई ३८–१२ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

दोस्रो खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २६–१४ ले पन्छायो ।

चौथो खेलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई २८–७ को विशाल अन्तरले पराजित गर्‍यो ।

यस्तै, बुधबारदेखि सुरु भएको ९औं महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको पहिलो दिनको खेलमा सशस्त्र प्रहरी, पश्चिमाञ्चल, आर्मीले जित हासिल गरेका छन् ।

बुधबारको अन्तिम खेलमा मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चलले ३–३ गोलको बराबरी खेले ।

सशस्त्रले सुदूरपश्चिमाञ्चललाई ४३–३ को विशाल अन्तरले पराजित गरेको हो ।

दोस्रो खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २१–३ को फराकिलो अन्तरले पराजित हरायो ।

तेस्रो खेलमा विभागीय टोली आर्मीले पूर्वाञ्चललाई २१–३ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

प्रवेश निःशुल्क रहेको उक्त प्रतियोगिता भलिबल प्रशिक्षण केन्द्रको परिसरमा पुरुषतर्फ र रंगशालाको पूर्वपट्टिको भागमा महिलातर्फको खेल सन्चालन भएको छ ।

प्रतियोगितामा सशस्त्र र आर्मीको दुई विभागीयसहित पाँच विकास क्षेत्रका एक/एक गरी महिला तथा पुरुषतर्फ ७/७ टिमको सहभागिता रहेको छ ।

यही पुस २२ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले ३०/३० हजार, उपविजेताले २०/२० हजार र तेस्रो हुनेले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताबाट सन् २०१९ मा नेपालमा आयोजना हुने १३औं ‘साग’ खेलका लागि खेलाडी छनोटसमेत गरिने जनाइएको छ ।