२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धरानलाई हराउँदै सङ्कटा क्वाटरफाइनलमा


0
Shares

क्षेत्रीय रङ्गशाला मैदानमा दुवै टिमले निर्धारित समयावधिमा गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । टाइबेकरमा सङ्कटाले धरानलाई ५–४ गोल अन्तरले पराजित गरी अन्तिम आठको यात्रा तय गरेको हो ।

दुवै टिमबाट सात/सात जनाले पेनाल्टी प्रहार गरेका थिए । सङ्कटाको तर्फबाट अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सिजन थापा र अभिषेक रिजालले गोल गरे । सुनिल लामा र भुषण सुब्बाको प्रहारलाई धरानका गोलकिपर रोशन खड्काले गोल हुनबाट रोेके ।

यस्तै, धरानकोतर्फबाट वर्तमान राई, रोमन लिम्बु, सुरज बिके र प्रकाश बुढाथोकीले गोल गरे । सुबोध शाहीले प्रहार गरेको बल गोलपोष्ट भन्दा माथिबाट बाहिरिएको थियो भने सुजन राई र रोशन खड्काको प्रहारलाई गोल हुनबाट बचाउ गर्दै सङ्कटाका गोलकिपर विनय श्रेष्ठ खेलको नायक बने । उनि म्यान अफ द म्याच घोषित भए ।

यसअघि, खेलको पहिलो हाफमा राम्रो प्रदर्शन गर्दै धरानले सङ्कटालाई दबावमा राख्न सफल भए पनि गोल गर्न सकेन । पाएको केही मौकालाई धरानका खेलाडीले गोलमा परिणत गर्न सकेनन् । सङ्कटाका खेलाडीले डी एरियाभित्र हातले बल छोएपछि गोल गर्ने राम्रो अवसर पाएको धरान पेनाल्टी प्रहारमा पनि चुक्यो । धरानका वर्तमान राईले प्रहार गरेको बललाई सङ्कटाका गोलकिपर श्रेष्ठले गोल हुनबाट रोके ।

लामो यात्रा गरेर थकित भए पनि आफ्नो खेलाडीले सोचेअनुरुप नै प्रदर्शन गरेको धरानका प्रशिक्षक अशोक राईले बताए । खेल समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा नतिजा सङ्कटाको पक्षमा गएको उल्लेख गरे ।

यस्तै, सङ्कटाका प्रशिक्षक सल्यान खड्कीले पनि लामो यात्रा गरेर खेलाडीहरु आएका कारण तालमेल नमिलेपछि पहिलो हाफमा धरानले आफ्नो टिममाथि दबाव कायम गर्न सफल भएको बताए । दोस्रो हाफको क्रममा सुधारेर प्रदर्शन गरेपछि खेल प्रतिस्पर्धात्मक बनेको उल्लेख गर्दै उनले विजय यात्रालाई निरन्तरता दिएर ‘टाइटल’ जितको खोजीमा रहने बताए ।

सङ्कटा गतवर्ष भएको सुदूरपश्चिम खप्तड गोल्डकपको उपविजेता टोली हो ।

सोमबार थ्री स्टार क्लब ललितपुर र झापा–११ बीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका मिडिया संयोजक ओकविक्रम चन्दले जानकारी दिए ।