
मंगलबार धनगढीस्थित क्षेत्रीय रंगशालामा भएको खेलमा डुक स्टार क्लब भुटानमाथि ३–२ को कठिन जित निकाल्दै रुपन्देही अन्तिम आठमा पुगेको हो ।
रुपन्देहीको जितमा अमर डंगोलले खेलको २२ र ३८औं मिनेटमा गरी दुई गोल गरे । रुपन्देहीका लागि अर्को एक गोल ६९औं मिनेटमा मनीष थापाले गरे । अमर खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
डुक स्टारले दोस्रो हाफमा दुई गोल फर्काएको थियो । डुक स्टारका लागि खेलको ५८औं मिनेटमा किङ्गा रग्वे र अतिरिक्त समयमा येशी दोर्जीले गोल गर्न सफल भए ।
दोस्रो हाफमा रुपन्देहीका खेलाडी गौतम श्रेष्ठले ‘डी एरिया’मा डुक स्टारका खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी प्रहारको अवसर दिए । तर, डुक स्टारका केजङ् वाङ्डीको प्रहारलाई रुपन्देहीका गोलकिपर सुजित गुरुङले विफल तुल्याए ।
खेलपछि रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले अपेक्षाअनुरुपको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए ।
भुटानका प्रशिक्षक कोता नाम्गेले आफ्ना खेलाडीहरुले यहाँ राम्रो खेल खेल्न नसकेको बताए ।
प्रतियोगितामा बुधबारदेखि क्वार्टरफाइनलका खेलहरु सुरु हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका मिडिया संयोजक ओमविक्रम चन्दले जानकारी दिए ।
पहिलो क्वार्टरफाइनल खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र संकटाबीच हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्