१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


प्रथम चौमासिकमा १ अर्ब १४ करोड राजस्व संकलन


0
Shares

बिराज रोस्यारा

कैलाली, मंसिर २८ । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा लक्ष्यभन्दा २०.५७ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

९५ करोड २० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १ अर्ब १४ करोड ७८ लाख १३ हजार रुपैयाँ संकलन भएको प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले जानकारी दिए । प्रथम चौमासिकको ३ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भए पनि कार्तिक महिनामा भने लक्ष्य हासिल भएको थिएन ।

कार्तिकमा २१ करोड ५ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गर्नेे लक्ष्य भए पनि २० करोड ३२ लाख रुपैयाँमात्रै राजस्व उठेको आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ ।

प्रमथ चौमासिकमा आयकरबाट ३४ करोड ९८ लाख ८३ हजार रुपैयाँ, ब्याजकरबाट १ करोड ४६ लाख ५२ हजार, मूल्य अभिवृद्धिकरबाट ३० करोड ७३ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी, अन्त शुल्कबाट ४५ करोड ९३ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । 

चालु आर्थिक वर्षमा सो कार्यालयलाई ३ अर्ब २४ करोड २० लाख ३८ हजार राजस्व संकलनको लक्ष्य मिलेको भए पनि वर्षभरी चार अर्ब रुपैयाँसम्म राजस्व संकलनको प्रयास गरिरहेको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत अधिकारीले जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालय धनगढीले साविकको सेती अञ्चलभरीकै राजस्व संकलन गर्दै आएको छ । क्षेत्र ठूलो र कर्मचारी सीमित रहेकाले राजस्व संकलनमा कठिनाइ समेत हुने गरेको जनाइएको छ ।

सो कार्यालयमा साना ठूला गरी एक लाख ३५ हजार करदाताले राजस्व बुझाउने गरेका छन् ।