यस्तो छ कार्यदललाई ‘म्यान्डेड’ • Image Khabar Image Khabar


यस्तो छ कार्यदललाई ‘म्यान्डेड’


Imagekhabar
२६ पुष २०७४, बुधबार १४:१९

यस्तो छ कार्यदललाई ‘म्यान्डेड’

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि बिहीबारबाटै कार्यदलले काम सुरु गर्ने भएको हो ।

ओली निवासको बैठककाबारेमा जानकारी दिँदै बैठकमा सहभागी कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले चारओटा मापदन्डका आधारमा बिहीबारबाटै काम सुरु गर्ने सहमति भएको सन्चारकर्मीलाई जानकारी दिए ।

उनले बैठकमा कार्यदलको काम गर्ने आधारबारे छलफल भएको बताउँदै राष्ट्रियसभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको जानकारी दिए । उनले बिहीबारदेखि नै कार्यदलले सघनरुपमा काम सुरु गर्ने बताउनुभयो ।

यो बीचमा पार्टी एकता भए कार्यदलको काम नरहने बताउँदै उनले दुई पार्टी छिट्टै एक हुने दाबी गरे ।

कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेस गर्ने भएको छ ।

प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको सिट संख्या र मतभारलाई आधार बनाएर, विभिन्न व्यक्तिले भोलिका दिनमा खेल्नसक्ने भूमिकालाई ख्याल गरी प्रभावकारी ढंगले सरकार र संसदमा नेतृत्व गर्नसक्नेलाई तथा एकताको गतिमा दुवै पक्षको सन्तुलनलाई ख्याल राखेर सिट विभाजन गरेर काम गर्न कार्यदलले ‘म्यान्डेड’ पाएको पुनले जानकारी दिए ।

बैठकबारे जानकारी दिँदै एमाले नेता तथा कार्यदल सदस्य शंकर पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यदललाई तत्काल काम सुरु गर्न निर्देशन दिएको जानकारी दिए ।

प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष दाहालबीच थप छलफल भएको थियो ।

गठबन्धनले गठन गरेको कार्यदलमा एमाले नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका थिए ।

बुधबारको बैठकका पाण्डे र यादव भने उपत्यकाबाहिर भएकाले बैठकमा उपस्थिति नभएको जानकारी दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्