
पोखरामा ३५ वर्षपछि आयोजित भारोत्तोलनको महिला ४८ केजी तौल समूहको क्लिन एन्ड जर्कमा राईले बुधबार ६६ केजी तौल उठाउँदै १२ वर्षअघि वीरगन्जमा नीता थापाले राखेको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।
स्न्याचतर्फ ५२ केजी उचालेकी राईले समग्रमा भने थापाको ११८ केजीको कीर्तिमान बराबरीमात्रै गरेकी छन् ।
गत वर्ष दुईओटा प्रतियोगितामा रजतपदकमा खुम्चिएकी राईले तेस्रो प्रयासमा भने राष्ट्रिय कीर्तिमानसहितको स्वर्णपदक उचालिन् ।
उदयपुर घर भएकी राईले चार वर्षको नियमित प्रशिक्षणपछि स्वर्णसहित कीर्तिमान कायम गर्न सकेकोमा खुसी व्यक्त गरिन् ।
उनले भनिन्-‘प्रहरीमा प्रवेश गरेपछि नियमित प्रशिक्षण गर्न पाएँ । त्यसैको प्रतिफल हो यो ।’
क्लिन एन्ड जर्कमामात्रै नभइ राईले स्न्याचमा पनि स्वर्ण जितिन् । उनले ५२ केजी तौल उठाइन् ।
प्रतियोगितामा २८ जिल्ला र तीन विभागीय टोलीका १८२ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्