१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


इलाम सदरमुकाममा शुद्ध पानीको अभाव (भिडियो)


0
Shares

खानेपानीको पाइप बिग्रिएपछि इलाम नगरपालिकाले सीधै खोलाको पानी पाइपलाइनबाट वितरण गर्दा शुद्ध पानीको अभाव भएको हो । इलाम नगरपालिकाले तत्काल बाटो निर्माण रोक्न आग्रह गरेको छ ।

सन्दकपुर गाउँपालिका माइमझुवाको गिताङखोलाको मुहानबाट ल्याइएको खानेपानीको पाइपमा सडक निर्माणकाक्रममा क्षति पुगेको छ ।

सदरमुकाममा खानेपानी आपूर्तिका लागि अहिले सन्दकपुर गाउँपालिकाकै ठाडे खोल्साबाट पानी ल्याइएको छ ।

सडक निर्माण गर्दा खानेपानीको मुहानमै क्षति पुगेको भन्दै नगरपालिकाले सडक निर्माण रोक्न आग्रह गरेको छ । तर, सन्दकपुरका बासिन्दा भने सडक निर्माण नरोक्ने अडानमा छन् । यसले गर्दा दुईओटा स्थानीय तहबीच विवाद देखिएको छ ।

सडक निर्माण समितिका अध्यक्ष रुकमान राईले स्थानीय सरकारलाई जानकारी गराएर काम सुरु गरिएकाले जसरी पनि सम्पन्न गर्ने बताए ।

इलाम नगरपालिकाले यसअघि गरेका सम्झौता पालना नगरेको सन्दकपुरका बासिन्दाको भनाइ छ । नगरपालिकाले पानी प्रशोधन केन्द्रसमेत सन्चालन गर्न नसकेको आरोप उनीहरु लगाउँछन् ।

पाइपलाइनमा क्षति भएपछि इलाम नगरपालिकाले खोल्साको पानी सीधै पाइपलाइनमा राखेर वितरण गरिरहेको छ ।

यसअघि, वितरण गर्दै अएको गिताङखोलाको पानी पनि फिल्टर नगरी उपभोक्ताको घरमा पुग्ने गरेको छ ।

इलाम सदरमुकामका उपभोक्ताले नगरमा आपूर्ति हुने पानी शुद्धीकरण गर्न बनाएको ट्यांकी बेकामे बनेको छ । ६ वर्षअघि चार करोड रुपैयाँ खर्चेर इलामको जस्बिरेनजिकै चारखाँदेछेउमा बनाइएको पानी शुद्धीकरण गर्ने ट्यांकी बेकामे बन्दा नगरपालिकाले खोलाको पानी सीधै उपभोक्तालाई बाँडेको हो ।

यहाँको पानी अशुद्ध भएकाले नगरपालिकाका बासिन्दामा विभिन्न रोग देखिन थालेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले पछिल्लो समयमा पानीजन्य रोगका संक्रमित बढ्दै गएको बताए ।

इलाम बजार क्षेत्रमा वितरण गरिएका ३ हजार ७२० धाराका करिब ५० हजार उपभोक्ता छन् । उपभोक्ताले अशुद्ध पानी पिउनुपर्ने बाध्यताको तत्काल अन्त्य गर्न माग गरेका छन् ।

भिडियो हेर्नुहोस्