नथुनिया मोचीको हातबाट जुस पिएर डा.गोविन्द केसीले तोडे अनसन (भिडियो) • Image Khabar Image Khabar


नथुनिया मोचीको हातबाट जुस पिएर डा.गोविन्द केसीले तोडे अनसन (भिडियो)


Imagekhabar
२९ पुष २०७४, शनिबार ११:२९

नथुनिया मोचीको हातबाट जुस पिएर डा.गोविन्द केसीले तोडे अनसन (भिडियो)

स्वास्थ्यमन्त्री दीपक बोहोरा नेतृत्वको सरकारी टोलीसँगको वार्ता सहमतिमा टुंगिएपछि डा. केसीले आज अनसन तोडेका हुन् ।

उनले शिक्षण अस्पताल महाराजगन्जको गेटमा जुत्ता सिलाएर जिविकोपार्जन गरिरहेका सिरहाका नथुनिया मोचीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

अनसन स्थगित गरेपछि डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले फागुन ८ गतेसम्म राजीनामा नदिए पुनः सत्याग्रहमा उत्रने चेतावनी दिए ।

उनले न्यायालयलाई न्याय बिक्री गर्ने न्यायाधीश मुक्त बनाउने अभियानमा आफू लाग्ने भन्दै जुनसुकै बेला पनि सत्याग्रहमा उत्रन सक्ने बताए ।

प्रधानन्यायाधीश पराजुलीले शैक्षिक योग्यताका प्रमाणपत्र सार्वजनिक गर्न अटेर गरेर अदालतको अवहेलना गरेको उनको भनाइ थियो ।

आफूले अदालतको सम्मान गरेको भन्दै निष्पक्ष छानविनको लागि पनि प्रधानन्याधिश पराजुलीले राजीनामा दिनुपर्ने उनका भनाई छ ।

उहाँले भ्रष्ट न्यायाधीशबाट न्यायालय बद्नाम भएको भन्दै न्याय कायम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

केसीले मानहानीको हतियार देखाएर कोही पनि नडराउने भन्दै अदालतको मानहानी गर्ने प्रधानन्यायाधीशलाई जेल हाल्नुको सट्टा सत्याग्रहीलाई जेल हाल्नुको औचित्य नभएको बताए ।

सरकार र डा. केसीबीच चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिम सात दिनभित्र सिफारिस समिति गठन गर्ने, चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा प्रा. डा. जगदिशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने सहमति भएको छ ।

त्यसैगरी त्रिवि शिक्षण अस्पताल सुधारसम्बन्धी मागसम्बन्धमा त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधामा बिस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने विस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने सहमति पनि भएको छ ।

केसीलाई अनसन तोडाउन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य मन्त्री बोहोराको टोलीले गएराति वार्ता गरेको थियो ।

डा. केसीले राखेको प्रमुख माग प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाका विषयमा भने कुनै सहमति भएको छैन ।

मन्त्री बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको काम हुने भएकाले अनसन अन्त्य गर्न आग्रह गरेका थिए ।

मन्त्री बोहोराले डा. केसीले उठाएका माग आंशिक रुपमा सर्वोच्च अदालतले सम्बोधन गरिसकेको बताएका थिए ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्