
राष्ट्रिय जनता पार्टीबाहेक सबै दलले क्लस्टर अनुसारको नाम आयोगमा पठाएका छन् । तर आयोगले परिणाम सार्वजनिक गर्न कानुनी जटिलता देखाउँदै आएको छ ।
निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेको एक हप्ताभित्रै प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सरकारले अहिलेसम्म प्रदेश प्रमुख नियुक्त नगरेकाले मतपरिणाम कहाँ बुझाउने भन्ने अन्योलका कारण सार्वजनिक नगरिएको जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले सरकारले प्रदेश प्रमुख नतोकेका कारण आफूहरुलाई मतपरिणाम सार्वजनिक गर्न समस्या परेको बताए । ढकालका अनुसार यदि आयोगले परिणाम सार्वजनिक गरी हाल्यो र प्रदेश प्रमुखलाई एक हप्ताभित्र रिपोर्ट बुझाउन पाएन भने संवैधानिक संकट आउने छ ।
यसैबीच निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टीले क्लस्टर मिलाएर नामावली नपठाए पनि परिणाम सार्वजनिक गर्न भने समस्या नरहेको जनाएको छ । प्रवक्ता ढकालले राजपाले नाम नपठाए अरु दलबाट निर्वाचित भएकाहरुको नाम सार्वजनिक गर्न सकिने बताए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रदेश प्रमुख माघ ४ भित्रै तोकी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली पुगिसक्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्