
केही उत्तर कोरियाली महिलाले शनिबार दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् ।
उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी ब्यान्डका अधिकारीहरु हुन् । फेब्रुअरीमा हुन लागेको सो खेलकुदमा उत्तर कोरियाका तर्फबाट सांगीतिक प्रस्तुति दिनका लागि उनीहरु त्यहाँ जान लागेका बताइएको छ ।
उत्तर कोरियाली एकजना संगीतकर्मी महिला हियोन सङ उलको नेतृत्वमा शनिबार एक दर्जनभन्दा बढी महिला दक्षिण कोरिया जाने तयारीमा रहेका छन् ।
उनीहरुले उक्त खेलकुदको समयमा पश्चिमाहरुकोजस्तै प्रस्तुति दिने बताइएको छ । यसका लागि उनीहरुले उत्तर कोरियामा नै लामो समयदेखि तयारी गरिरहेका थिए ।
चार वर्षपहिला उत्तर कोरियाले कुनैपनि महिला अधिकारीले उत्तर कोरिया सरकारको अनुमतिबिना दक्षिण कोरियाको भ्रमणमा जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।
आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकुद अधिकारीहरु पठाउने जानकारी यसअघि नै दिइसकेको छ ।
उक्त ओलम्पिक खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकार पनि जाने बताइएको छ ।
उत्तर कोरियाली प्रतिनिधिमन्डल ठूलो हुने र त्यसमा खेलाडीलाई हौसला प्रदान गर्ने समूह (हौसाउने व्यक्ति) पनि त्यहाँ जान लागेको भएको जनाइएको छ ।
दक्षिण कोरियाले यस खेलकुदमा उत्तरले बढीभन्दा बढी खेलाडी र अधिकारी पठाओस् र जसले गर्दा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन सकियोस् भन्ने आग्रह गरेको थियो ।
त्यतिमात्र नभएर उत्तर र दक्षिण कोरियाले उक्त खेलकुदमा एउटै अथवा संयुक्त झन्डामा सँगसँगै मार्च गर्न सहमति जनाएका छन् ।
त्यसैले पनि उक्त खेलकुदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहिआएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमकारुपमा लिनुपर्नेमा विश्वका नेताहरुले नै आग्रह गरेका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्