२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


डोटी तनावग्रस्त, झडपमा १५ बढी घाइते, घाइते हुनेमा मेयरसम्म (७ तस्वीर)


0
Shares

प्रादेशिक राजधानीको माग गर्दै आएका आन्दोलनकारी र प्रहरीबीच दिपायलमा झडप भएको हो । झडपकाक्रममा १२ बढी आन्दोलनकारी र पाँचजना प्रहरी घाइते भएका छन् ।

घाइते हुनेहरुमा नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्ल, दिपायल–सिलगढी नगरपालिकामा मेयर मञ्जु मलासी, सायल गाउँपालिकाका उपाध्यक्ष बिस्ना सिंह, माओवादी केन्द्रका केन्द्रीय सदस्य जर्नादन जोशी रहेका छन् ।

यस्तै, आन्दोलनकारीहरु सुशील घर्ती, शेरबहादुर मल्ल, मेरिना श्रेष्ठ, विजयराज ओझालगायत घाइते भएका छन् ।

झडपमा प्रहरी निरीक्षकसहित पाँचजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख मधुसुधन लुइँटेलले जानकारी दिए ।

तीन दर्जन अश्रुग्यास प्रहार
आन्दोलनकारीले शुक्रबार जिल्ला प्रशासन कार्यालय दिपायलमा सुरक्षामा रहेका प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ ।

स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिनका लागि अश्रुग्यास प्रहार गर्नुपरेको प्रशासनले जनाएको छ ।

प्रहरीले समाचार संकलनमा खटिएका पत्रकारहरुलाई पनि कुटपिट गरेको थियो ।

सरकारी कार्यालयमा कालोझन्डा र तोडफोड
डोटीमा रहेका सम्पूर्ण सरकारी कार्यालयमा शुक्रबार आन्दोलनकारीले कालोझन्डा गाडेका छन् । सरकारी कार्यालयका बोर्ड फालिएको छ ।

यस्तै, जिल्ला वन, जिल्ला पशुसेवा, निर्वाचन कार्यालय, जिल्ला नापीको नवनिर्मित भवनमा तोडफोड गरिएको छ ।