
गृष्मा राजभण्डारी र दिलिप पोखरेल (इमेज)
काठमाडौं, मंसिर २५ । सामान्यतया सुधारगृह अर्थात् पुनर्स्थापना केन्द्र भन्नाले कुलतमा लागेका व्यक्तिको जीवन सुधार गर्ने संस्था भन्ने बुझिन्छ ।
पछिल्लो समयमा कुलतमा फस्नेहरुको संख्या बढेसँगै यस्ता पुनर्स्थापना केन्द्र सन्चालन गर्नेक्रम पनि बढेको छ ।
तर, कतिपय यस्ता केन्द्र मानसिक र शारीरिक यातना दिने थलो बनेको खुलासा भएको छ ।
सुधारगृह अर्थात् पुनर्स्थापना केन्द्रको मुख्य दायित्व कुलतमा फसेका व्यक्तिलाई सही मार्गमा ल्याउनु हो ।
नेपालमा कुलतमा फस्नेहरुको संख्या बढ्दै गएसँगै पुनर्स्थापना केन्द्र खुल्नेक्रम पनि बढेको छ । सरकारी नीति–नियमअनुसार नै यस्ता संस्था खुलेका हुन् ।
आफ्ना सन्तान कुलतमा फसेको थाहा भएपछि अभिभावकहरुले नै उनीहरुलाई पुनर्स्थापना केन्द्रमा निश्चित समयसम्म राखेर सुधारको प्रयास गर्ने गरेका छन् । त्यसका लागि निश्चित रकमसमेत भुक्तानी गर्नुपर्ने हुन्छ ।
कुलतमा फसेको व्यक्तिलाई सकारात्मक ढंगले परिवर्तन गराउनु पुनर्स्थापना केन्द्रको दायित्व हो ।
यद्यपि, त्यही पुनर्स्थापना केन्द्रमा सुधारको सट्टा मानसिक र शारीरिक यातना दिइयोे भन्ने समाचार भने जो–कोहीका लागि पनि नौलो हुनसक्छ ।
तर, काठमाडौंको सुकेधारास्थित ट्रान्फरमेसन नेपालले कुलतमा फसेकाहरुलाई चरम मानसिक र शारीरिक यातना दिएको खुलासा भएको छ ।
पुनर्स्थापना केन्द्रबाट भागेका केही व्यक्ति प्रहरीमा शरण लिन पुगेपछि यसको खुलासा भएको हो ।
त्यतिमात्र होइन, पुनर्स्थापना केन्द्रका सन्चालकहरुले हरेक रात यौनदुर्व्यवहार गर्ने गरेको आरोपसमेत पीडितहरुले लगाएका छन् ।
कुलतमा फसेकाहरुलाई घरमा लिन आउँदा महँगो ट्याक्सी खर्च लिने र वार्षिक चार लाख रुपैयाँसम्म असुल गर्ने गरेको गुनासो अभिभावकको छ ।
प्रहरीले अहिले यो पुनर्स्थापना केन्द्रका सन्चालक समीप मल्ल, सुमन घिमिरे र सुदीप ढुंगानालाई पक्राउ गरिसकेको छ । उनीहरुमाथि छानबिन भइरहेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामाले पुनर्स्थापना केन्द्रमा रहेका आफ्ना सन्तानबारे अभिभावकले यथार्थ जानकारी लिइरहनुपर्ने बताए ।
सरकारले पुनर्स्थापना गृह सन्चालनको अनुमति दिँदा सन्चालकहरुको पृष्ठभूमिसहितका विवरणहरुसमेत अध्ययन गर्नुपर्ने देखिएको छ । त्यतिमात्र होइन, पुनर्स्थापना गृहहरुको नियमित अनुगमन गरी उनीहरुमाथि निगरानी बढाउन आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्