२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


यसरी भव्य बनाइयो प्रदेश–१ को शपथ कार्यक्रम (भिडियो)


0
Shares

सातओटै प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएसँगै मुलुकमा संघीय संसदले पूर्णता पाएको छ ।

सातओटै प्रदेशका अस्थायी राजधानी तोकिएका क्षेत्रमा विभिन्न तामझामका साथ प्रदेशसभा सदस्यहरुको शपथग्रहण भएको छ ।

प्रदेश नम्बर–१ का प्रदेशसभा सदस्यहरुको शपथग्रहण कार्यक्रम निकै रोचक देखिएको थियो ।

सरकारले प्रदेश नम्बर–१ को अस्थायी राजधानी विराटनगरलाई घोषित गरेपछि उत्साहित बनेका विराटनगरवासीले प्रदेशसभा सदस्यहरुको भव्य स्वागत गरेका छन् ।

शपथग्रहण कार्यक्रममा सहभागी हुन पुगेका प्रदेशसभा सदस्यहरुलाई विराटनगरवासीले स्वागतमात्र गरेनन्, शपथग्रहण कार्यक्रमलाई व्यवस्थित बनाउन रात–दिन नभनी तयारी भव्य गरेका थिए ।

सांसदहरुको शपथग्रहणस्थल विराटनगरस्थित वीरेन्द्र सभागृहलाई झकिझकाउसमेत बनाइएको थियो ।

प्रदेश नम्बर–१ को पहिचान झल्काउने सगरमाथादेखि सो प्रदेशमा समेटिएका क्षेत्रबाट प्रधानमन्त्री भइसकेका व्यक्तिहरुको तस्वीरसमेत टाँगिएको थियो ।

समारोहस्थलमा ९ जना पूर्वप्रधानमन्त्रीहरुको तस्वीर सजाइएको थियो । प्रदेश नम्बर–१ का विशिष्ट व्यक्तित्वहरु देखिएको तुलमा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालादेखि केपी शर्मा ओलीसम्मको तस्वीर समेटिएको थियो ।

शपथग्रहणस्थलमा प्रदेश–१ का पर्यटकीय एवं पहिचान झल्काउने ठाउँ सगरमाथादेखि अन्य हिमाल र भोजपुरे खुकुरी एवं बराहक्षेत्रका तस्वीरले झकिझकाऊ पारिएको थियो ।

यस्तै, तस्वीरमा मकालु हिमाल, कन्चनजंघा हिमाल, मोरङको विराट दरबार, विराटनगर प्रवेशद्वार, विराटनगर रथयात्रा, खोटाङको हलेसी मन्दिर, सुनसरीको सप्तकोसी र बराहक्षेत्रलाईसमेत समेटिएको थियो ।

त्यसैगरी, झापाको अर्जुनधारा र चिया बगानका तस्वीर, धरानको पञ्चकन्या, दन्तकाली र बूढासुब्बा मन्दिरका तस्वीरहरु पनि शपथग्रहणस्थलमा राखिएको थियो ।

शनिबारसम्म माकुराको जालो र फोहोर भरिएको विराटनगरस्थित वीरेन्द्र सभागृहलाई रातारात सजाएर झकिझकाउ पारिएको हो । चारैतर्फ राष्ट्रिय झन्डा र राष्ट्रपतिको तस्वीर सजाइएको थियो ।

शपथग्रहण कार्यक्रमस्थलमा प्रवेश गर्नेबित्तिकै सबैलाई मोहित पार्ने दृश्यले विराटनगरको पहिचान नै फेरिएको आभास हुन्थ्यो ।

भिडियो हेर्नुहोस्