प्रदेश–४ को शपथमा जे देखियो • Image Khabar Image Khabar


प्रदेश–४ को शपथमा जे देखियो


Imagekhabar
७ माघ २०७४, आईतवार १५:५२

प्रदेश–४ को शपथमा जे देखियो

त्यसअघि, आइतबारै श्रेष्ठलाई प्रदेश नम्बर–४ का प्रदेशप्रमुख बाबुराम कुँवरले शपथग्रहण गराएका थिए ।

प्रदेशसभाका ज्येष्ठ सदस्य श्रेष्ठले प्रदेश–४ का कुल ६० जना सदस्यमध्ये ५८ जना सदस्यलाई नदीपुरस्थित प्रदेशसभा हलमा शपथ गराएका हुन् ।

शपथग्रहण कार्यक्रममा मनाङबाट निर्वाचित दीपक मनाङे र तनहुँबाट निर्वाचित रामबहादुर गुरुङ उपस्थित भएनन् ।

ज्यान मार्ने उद्योगमा पाँच वर्षको जेल सजाय गर्ने पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि मनाङेको उपस्थिति हुन सकेन ।

तनहुँबाट निर्वाचित रामबहादुर गुरुङ भने देशबाहिर रहेका कारण शपथ कार्यक्रममा सहभागी नभएको बताइएको छ ।

११ जिल्ला समेटिएको प्रदेश–४ मा प्रदेशसभा निर्वाचनबाट प्रत्यक्षतर्फ ३६ र समानुपातिकबाट २४ जना सदस्य निर्वाचित भएका थिए ।

शपथ लिइरहँदा प्रदेश सदस्यहरुको अनुहारमा विशेष चमक देखिन्थ्यो । शपथपछि सदस्यहरुले सेल्फी खिच्दै गरेको दृष्य निकै रोमान्चक थियो । अनेक थरि पोसाकमा सजिएका सदस्यहरुले सामूहिक फोटोसेसनसहित आपसमा हात मिलाउँदै एक–अर्कालाई कार्यकालको शुभकामना दिएका थिए ।

मुस्ताङबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले भने जातीय पोसाकमै शपथ लिए ।

संघीयता कार्यान्वयनसँगै पहिलोपटक प्रदेशसभास्थल पुगेका सदस्यहरु निकै खुसी देखिएका थिए । शपथसँगै प्रदेशसभा सदस्यहरुले संघीयताको कार्यान्वयन भएको आभास मिलेको प्रतिक्रिया दिएका छन् ।

छिट्टै प्रदेशसभा गठन गरी विकासको ढोका खोल्न आतुर रहेको प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले बताए । उनले विकासमा राजनीति नगरी, चुनावकाबेला जनतालाई दिएको वचन पूरा गर्नतर्फ लाग्नुपर्ने बताए ।

अर्का प्रदेशसभा सदस्य दीपक कोइरालाले जलविद्युत्, कृषि र पर्यटनमार्फत् यस क्षेत्रको विकास गर्नसकिने बताए ।

यस्तै, सदस्य विकास लम्सालले प्रदेश नियम–कानुन बनाएर विकासको एजेन्डामा लाग्ने बताए ।

यसअघि, आइतबार बिहान ८ बजे प्रदेशप्रमुख कुँवरले पदभार पदभारग्रहण गरेका थिए । प्रदेशप्रमुखको कार्यालयमा पदभारग्रहण गरेलगत्तै कुँवरले ज्येष्ठ सदस्यकोरुपमा नेकपा एमालेको तर्फबाट नवलपुर निर्वाचन क्षेत्र नम्बर–२ ‘ख’बाट निर्वाचित ६७ वर्षीय जनकलाल श्रेष्ठलाई शपथ गराएका थिए ।

सहिदचोकस्थित अध्यागमनको कार्यालयमा प्रदेशप्रमुखको कार्यालय स्थापना गरिएको छ । कार्यभार सम्हाल्नुपूर्व कुँवरलाई नेपाली सेनाले सलामी दिएको थियो ।

सलामीग्रहणपछि प्रदेशप्रमुखको पदभारग्रहण कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, प्रशासनिक तथा सुरक्षा प्रमुख, मेयर, राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

यसैबीच, पदभारग्रहणपछि सन्चारकर्मीसँग कुरा गदै प्रमुख कुँवरले ४ नम्बर प्रदेशमा जलविद्युत् र पर्यटनमा अथाह सम्भावना रहेको बताए ।

प्रदेशलाई नमुना प्रदेश बनाउन सबैको साथ–सहयोग आवश्यक रहेको भन्दै उनले संविधानले दिएको अधिकार प्रयोग गर्दै छिट्टै प्रदेशसभा गठन गरी अगाडि बढ्ने बताए ।

यसैबीच, प्रदेशसभा सदस्यहरुको सम्मानमा पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले दिवाभोज आयोजना गरे ।

समाचार संकलनका लागि पुगेका पत्रकारलाई भने प्रदेशसभा हल प्रवेशमा कडाइ गरिएको थियो । सन्चारकर्मीलाई सहजरुपमा फोटो खिच्न र समाचार संकलनमा कठिनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्