शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य सुटर ‘गुम्बे’ पक्राउ • Image Khabar Image Khabar


शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य सुटर ‘गुम्बे’ पक्राउ


Imagekhabar
९ माघ २०७४, मंगलवार १२:२७

शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य सुटर ‘गुम्बे’ पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले मुख्य गोली हान्ने गुम्बेलाई पक्राउ गरेको सीआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले बताए ।

अभियुक्त गुम्बेलाई भरतपुर महानगरपालिका वडा नम्बर–६ गीतानगरबाट पक्राउ गरिएको हो । कार्कीले गौचन र तिवारीको दुवै घटनामा निज लामा संलग्न भएको बताए ।

केही दिनयता सीआइबीको टोलीले लामाको पिछा गर्दै आएको थियो । गीतानगरको भित्री बस्ती क्षेत्रबाट गुम्बेलाई पक्राउ गरिएको हो ।

कार्कीले अपराधीलाई सीआइबीले छाड्दैन भन्ने कुरा कामले पुष्टि गरेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सोमबार साँझ अबेर निजलाई पक्राउ गरी सीआइबीले राति नै लामालाई काठमाडौं लगेको बताए ।

देशकै मध्यभाग भएकाले आपराधिक क्रियाकलापपछि अन्यत्र जान सहज होस् भन्नाका लागि अपराधी लुक्न चितवन आउने गरेको थापाले बताए ।

गौचन हत्याकान्डका प्रमुख योजनाकार समीरमानसिंह बस्नेतसहित अन्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

व्यवसायी गौचनको गत असोज २३ गते काठमाडौं, शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो । उनलाई मोटरसाइकलमा आएका व्यक्तिले गाडीमा गोली प्रहार गरेका थिए ।

तिवारीको रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा गत वर्ष पुसमा गोली प्रहार भएको थियो । देब्रे कोखामा गोली लागेका उनको रुपन्देहीस्थित देवदह मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्