२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


संकटाको यात्रा समाप्त पार्दै सशस्त्र क्वार्टरफाइनलमा


0
Shares

बिहीबार पोखरा रंगशालामा भएको खेलमा संकटा क्लबलाई १–० ले हराउँदै सशस्त्र अन्तिम आठमा पुगेको हो ।

सशस्त्रको जितमा आदित्य चौधरीले खेलको २८औं मिनेटमा फ्रिकिकमार्फत् गरेको एक गोल नै निर्णायक बन्यो ।

संकटाका विदेशी खेलाडी कोओरा लार्वा फ्लोरेन्ट कोनेले सशस्त्रका खेलाडी रन्जन विष्टलाई लडाएपछि रेफ्री श्रवण लामाले कोनेलाई पहेंलोकार्ड देखाउँदै सशस्त्रका लागि फ्रिकिकको अवसर प्रदान गरेका थिए ।

चौधरीले १८ यार्ड परबाट प्रहार गरेको बल क्रसबारमा लागेर पोस्टभित्र गोल भएको थियो । चौधरी खेलको ‘म्यान अफ द म्याच’समेत घोषित भए ।

चौथोपटक आहा ! रारा गोल्डकपमा सहभागी संकटा यसअघि उपविजेतासम्म बनेको थियो । सशस्त्रको भने यो ११औं सहभागिता हो ।

खेलको पहिलो हाफमा संकटाले गोल गर्ने झन्डै आधादर्जन अवसर सदुपयोग गर्न सकेन । फिनिसिङमा कमजोरी हुँदा संकटाको यात्रा पहिलो खेलबाटै समाप्त हुन पुग्यो ।

खेलपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले पाएका अवसर सदुपयोग गर्न नसक्दा र फिनिसिङ राम्रो नहुँदा हार व्यहोर्नुपरेको बताए ।

सशस्त्रका प्रशिक्षक रत्नकाजी महर्जनले इटहरीमा खेल खेलेर आएकाले थकानका कारण सोचेजस्तो खेल आफ्ना खेलाडीले खेल्न नसकेको प्रतिक्रिया दिए ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार नेपाल पुलिस क्लब र झापा–११ बीच खेल हुने आयोजक सहारा क्लबले जनाएको छ ।