१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बरिन्धरा सेमिफाइनलमा, आहा ! रारा गोल्डकपमा तनाव, दुई खेलाडीलाई रातोकार्ड


0
Shares

शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा सुदूरपश्चिम–११ लाई २–१ ले स्तब्ध पार्दै उत्तर बरिन्धराले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बरिन्धराले खेलको ७४औं मिनेटमा मिडो मासाको गोलबाट अग्रता लिएको थियो । ७६औं मिनेटमा सुदूरपश्चिमले पाएको पेनाल्टी धिरज गुरुङले चुकाउँदा बराबरी गर्ने अवसर गुमायो ।

खेलको ८३औं मिनेटमा बरिन्धराका सइला सोन्लिमेनले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । ८८औं मिनेटमा सुदूरपश्चिमका विनोद केसीले एक गोल गर्दै खेल २–१ को स्थितिमा पुर्‍याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।

सुदूरपश्चिमले पाएका केही अवसर चुकाउँदा उत्तर बरिन्धरासँग पराजित भयो ।

दोस्रो हाफको अन्त्यतिर उत्तर बरिन्धराका प्रमुख डिफेन्डर कान्डे लान्साने र स्ट्राइकर सइला सोन्लिमेनले रातोकार्ड पाए ।

रेफ्री सुदेश पाण्डेलाई बरिन्धराका खेलाडीले कार्ड दिएको भन्दै दुर्व्यवहार गरेपछि माहोल केहीबेर तनावपूर्ण बनेको थियो ।

बरिन्धराका प्रशिक्षक महबुब अलि मानिकले रेफ्रिले तटस्थ निर्णय नगरेको आरोप लगाउँदै असन्तुष्टि पोखे ।

खेलको ‘म्यान अफ द म्याच’ बरिन्धराका मिडो मासा घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।

बरिन्धराले अब सशस्त्र प्रहरी बलको एपीएफ र थ्रीस्टार क्लबबीच हुने क्वार्टरफाइनलको विजेतासँग माघ १५ गते सेमिफाइनल खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत् आइतबार त्रिभुवन आर्मी र धरान फुटबल क्लबबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ ।