Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


चार महिनादेखि एम्बुलेन्स बिग्रँदा सेवा प्रभावित


0
Shares

बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, छतिवन सामुदायिक वनलगायत विभिन्न संघसंस्थाको सहयोग र चन्दा संकलनबाट ५ वर्षअघि २०६९ साल साउनमा सामुदायिक स्वास्थ्य केन्द्रले किनेको एम्बुलेन्स बिग्रिएपछि मर्मत गर्ने रकम अभावमा एम्बुलेन्स सेवा प्रभावित भएको हो ।

गाउँपालिकाको एक मात्र एम्बुलेन्स मर्मत हुन नसक्दा बिरामीको एम्बुलेन्स सेवा नपाएर उपचारमा ढिलाइ भएका कारण ज्यानसमेत जाने गरेको सामुदायिक स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज मोहनबहादुर जिसीले बताए ।

‘एम्बुलेन्सका लागि राति रुँदै फोन गर्छन्, बिग्रिएको भन्नुबाहेक केही उपाय हुन्न, समस्या छ,’ उनले भने । ग्राभेल सडकमा केही महिनाअघि एम्बुलेन्स दुर्घटना हुँदा नराम्ररी बिग्रिएपछि रकम अभावले मर्मत गर्न नसकिएको केन्द्रका इन्चार्ज मोहनबहादुर जिसीको भनाइ छ ।

मर्मतका लागि गाउँपालिकाले सुनुवाइ नगरेको स्वास्थ्य सेवा केन्द्रको गुनासो छ । एम्बुलेन्स नहुँदा बिरामीले चर्को रकम खर्च गरी निजी सवारी साधन प्रयोग गर्न बाध्य छन् । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिँह केसीले भने, ‘एम्बुलेन्स आवश्यक हो, चार महिनादेखि बिग्रिएको छ, मर्मतका लागि सहयोग नगर्ने भन्ने हुँदैन चैतसम्म केही सहयोग गर्न प्रयास गर्छौं ।’

उनले अगाडी भने, ‘संस्थाले एम्बुलेन्स किन्न सहयोग गर्‍यो, उसैले गर्नुपर्ने हो तर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गर्न सकेमा अझै छिटो बनाउन सकिन्थ्यो ।’

एम्बुलेन्स हस्तान्तरण गर्नुपर्ने गाउँपालिकाको माग छ । गैरसरकारी संस्था महासंघले हस्तान्तण गर्न नमिल्ने जनाएको सामुदायिक स्वास्थ्य सेवा केन्द्रले जनाएको छ ।

अनुमानित रु दुईलाखदेखि तीन लाखसम्म खर्च गरेमा एम्बुलेन्स बनाएर सेवा सञ्चालन गर्न सकिने उनले बताए ।

गत असोज ६ गतेदेखि मेशिनरी सामान, गियर बक्स लगायतका सामान बिग्रिएर एम्बुलेन्स थन्किएको छ । (रासस)