मुख्यमन्त्री बन्न गुटबन्दी चर्कियो • Image Khabar Image Khabar


मुख्यमन्त्री बन्न गुटबन्दी चर्कियो


Imagekhabar
१८ माघ २०७४, बिहीबार १७:३२

मुख्यमन्त्री बन्न गुटबन्दी चर्कियो

आफ्नो पक्षमा माहोल सिर्जना गर्न मुख्यमन्त्रीका आकांक्षीहरु शीर्ष तथा प्रभावशाली नेताको घरदैलो धाइरहेका छन् । आकांक्षीहरुले पार्टीभित्रै गुटबन्दीलाई पनि तीव्रता दिएका छन् ।

मुख्यमन्त्रीका लागि दलीय प्रतिस्पर्धा सकिएपछि मुख्यमन्त्री पाएका दलभित्र आकांक्षीहरुबीच आन्तरिक प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ ।

आकांक्षीहरूले आफूनिकट सांसदहरूको समूह निर्माण गर्न थालेका छन् । आफ्नो पक्षमा रहने सांसदहरूको हिसाब देखाउँदै उनीहरूले शीर्ष तथा प्रभावशाली नेताहरुसमक्ष लबिङ गरिरहेका छन् ।

चारओटा प्रदेशको मुख्यमन्त्री पाएको नेकपा एमालेभित्र अन्य दलभन्दा प्रदेश मुख्यमन्त्री बन्नका लागि अस्वाभाविक प्रतिस्पर्धा देखिएको छ ।

मुख्यमन्त्री बन्नकै लागि गुट–उपगुट परिवर्तन गर्ने खेलसमेत भइरहेका छन् । एमालेले राष्ट्रियसभा निर्वाचनपछिमात्रै मुख्यमन्त्री छनोटको प्रक्रिया सुरु गर्ने र सहमति हुन नसके निर्वाचनको माध्यम छनोट गर्ने संस्थागत निर्णय गरिसकेको छ ।

एमालेभित्र मुख्यमन्त्री बन्नका लागि आन्तरिक प्रतिस्पर्धा तीव्रमात्र नभइ अस्वाभाविक पनि देखिन थालेको छ ।

केही मुख्यमन्त्रीका आकांक्षीले पत्रकार सम्मेलन नै गरेर आफ्नो दाबेदारी पेस गरेका छन् ।

एमाले सचिव प्रदीप ज्ञवालीले प्रतिस्पर्धा स्वाभाविक भएपनि पार्टीलाई नै असर पर्ने गरी दाबेदारी प्रस्तुत् गर्नु स्वाभाविक नभएको टिप्पणी गरे ।

पार्टीभित्र प्रदेश मुख्यमन्त्रीका लागि गुटबन्दी झाँगिदै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीका आकांक्षी नेताहरूलाई एक्ला–एक्लै भेटेर सहमति जुटाउने प्रयास गरेका छन् ।

अध्यक्ष ओलीले राष्ट्रियसभा सदस्य निर्वाचनअगावै सहमति गरेर पार्टीभित्र आन्तरिक गुटबन्दी हुन नदिन कसरत गरिरहेका हुन् ।

यता, प्रदेश नम्बर–६ र ७ को मुख्यमन्त्री भागमा पारेको माओवादी केन्द्रभित्र पनि मुख्यमन्त्री बन्न आकांक्षीहरुबीच आन्तरिक प्रतिस्पर्धा तीव्र बनेको छ ।

मुख्यमन्त्री छनोट गर्ने जिम्मा प्रदेश संयोजकको समन्वयमा अध्यक्ष पुष्पकमल दाहालसहित तीन शीर्ष नेतालाई दिइएको छ । तर, आकांक्षीहरुले भने प्रदेशसभाका सांसदको गुट बनाएर शीर्ष एवं प्रभावशाली नेताहरुसँग भेट तीव्र बनाइरहेका छन् ।

आफ्नो गुट बलियो बनाउँदै पार्टी नेतृत्वसँग लबिङ गर्न माओवादी केन्द्रका मुख्यमन्त्रीका आकांक्षीहरु काठमाडौंकेन्द्रित दौडधुपमा छन् ।

प्रदेश–२ मा मधेसी गठबन्धनको बहुमत छ । गठबन्धनमा रहेका दुई दलमध्येको एक संघीय समाजवादी फोरम नेपालको भागमा मुख्यमन्त्री पर्ने देखिएको छ ।

तर, संघीय समाजवादी फोरमभित्र पनि मुख्यमन्त्रीका आकांक्षीहरु आफ्नो पक्षमा माहोल सिर्जना गर्न अहोरात्र दौडधुप गरिरहेका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्