Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


होटल व्यवसायीले दिए सांसदलाई खाना र आवासमा छुट


0
Shares

हेटौंडालाई स्थायीरुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौंडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् ।

सांसदका लागि शपथग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेको होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले जानकारी दिए ।

उनले भने–‘प्रदेशको राजधानी हेटौंडा बनाउनका लागि यति सहयोग गर्न होटल व्यवसायी तयार छन्, सांसदलाई सेवा दिन पाउँदा खुसी पनि छन् ।’

हेटौंडामा पर्याप्त होटल रहेको भन्दै उनले प्रदेशको राजधानी बनाउन संघले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताए ।

अस्थायी मुकाम हेटौंडा तोकिएपछि संघले बैठक बोलाएर प्रदेश सांसदलाई खाना र बसाइँमा छुट दिने निर्णय गरेको अध्यक्ष शर्माले बताए ।

प्रदेशसभाको पहिलो बैठकमा सहभागी हुन हेटौंडा आएका सांसदलाई आवास तथा खानाको व्यवस्था मिलाउन पाउँदा खुसी लागेको मानस गेस्टहाउसका सन्चालक मानबहादुर लामाले बताए ।

त्यसैगरी, थकाली भान्छाघरका सन्चालक शम्भु अधिकारीले छुट पाएकामा सांसदहरु खुसी भएको बताउँदै स्थायी राजधानी हेटौंडा भएको खन्डमा सधैं छुट दिन सकिनेसमेत बताए ।

हेटौंडाका होटल व्यवसायीले गरेको छुट हेटौंडावासीको माया भएको सांसद रीता माझीले बताइन् । होटल व्यवसायीको यस कार्यले सांसदहरु खुसी नै भएको उनको भनाइ छ । रासस