४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


राजन लिम्बूका कर्तुत


0
Shares

काठमाडौं, मंसिर २१ । प्रहरीले काठमाडौंको रातोपुलमा डकैती घटनामा संलग्न एक अभियुक्तलाई पक्राउ गर्नेक्रममा शुक्रबार गोली चलाएको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले डकैतीसम्बन्धी घटनामा मुछिएका ४६ वर्षीय राजन लिम्बूलाई पक्राउ गर्न गोली चलाएको हो ।

तिघ्रामा गोली लागी उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

हतियारसहित रहेका लिम्बूलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि जवाफी कारबाहीस्वरुप गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ ।

उनको साथबाट पेस्तोल एकथान, त्यसको गोली चार राउन्ड र खोका एकथान बरामद गरिएको प्रहरीको भनाइ छ ।

लिम्बूमाथि पछिल्लो समय सुनसरीको इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरका सन्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर तीन लाख रुपैयाँ लुटेको अभियोग लागेको छ । उनी यसअघि ६ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

लिम्बूकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको अहिले काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

राजन लिम्बूका कर्तुत

प्रहरीकाअनुसार शुक्रबार गोली लागि घाइते भएका राजन लिम्बू यस्ता घटनामा संलग्न छन् ।

सन्तोष लिम्बू र पासाङ लामाले प्रहरीमा वि.सं. २०६२ सालमा दिएको जाहेरीअनुसार राजन लिम्बूको समूह हातहतियारसहित आइ जाहेरवालामध्येका सन्तोष लिम्बूलाई नियन्त्रणमा लिइ नगद तथा जिन्सी सामानहरु डाँका गरी लगेका थिए । यो मुद्दामा राजन लिम्बूलाई ‘फरार अभियुक्त’ भनी उल्लेख गरिएको छ ।

२०६३ सालमा जाहेरवाला रबिन राईले दिएको जाहेरीअनुसार हतियार देखाइ गेस्टहाउसबाट राजन लिम्बूको समूहले ८६ हजार ५०० रुपैयाँ बराबरको धनमाल डाँका गरेका थिए । प्रहरी रेकर्डअनुसार यो मुद्दामा पनि उनी ‘फरार अभियुक्त’कारुपमा थिए ।

२०६३ सालमै गेस्टहाउसको काउन्टरमा पसी राजन लिम्बूको समूहले पेस्तोल देखाइ तीन लाख ६१ हजार १०० बराबरको धनमाल डाँका गरेको प्रहरी रेकर्डमा उल्लेख छ ।

यसैगरी, २०६३ सालमै कृष्णबहादुर मगरको जाहेरीअनुसार राजन लिम्बूको समूहले रोवल कोअपरेटिभमा पेस्तोल देखाइ ११ लाख ३० हजार ९२२ बराबरको धनमाला डाँका गरी लगेको प्रहरी रेकर्डमा उल्लेख छ । यो मुद्दामा पनि राजन लिम्बू ‘फरार अभियुक्त’ हुन् ।

यसपछि २०७३ सालमा जीवन विकास लघुवित्त संस्थाका कर्मचारीलाई पेस्तोल देखाइ राजन लिम्बूको समूहले नगद १० हजार लुटेका थिए ।

प्रहरी रेकर्डअनुसार यसैदिन सोही संस्थामा कारोबार गर्न आएका वीरबहादुर प्रधानको साथमा रहेको ९० हजारसमेत लिइ यो समूह फरार भएको चेतनारायण यादवले दिएको जाहेरीमा उल्लेख छ ।

यसै वर्ष पनि गत मंसिर १२ गते इटहरीस्थित आइएमइको कार्यालयबाट पीडितलाई छुरा प्रहार गरी तीन लाख रुपैयाँ डाँका गरी फरार भएको प्रहरी रेकर्डमा उल्लेख छ ।