
जनकपुरस्थित शैक्षिक तालिम केन्द्रको भवनमा आइतबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया माघ २९ गते शुरु गरी फागुन २ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
प्रदेशसभाको दोस्रो बैठक भने माघ २९ गते बस्ने तय भएको छ ।
आइतबार बसेको बैठकमा प्रदेशसभामा उपस्थित दलका नेताहरुले सम्बोधन गरेका थिए ।
यसअघि बैठक शुरु हुनासाथ केहीबेर अबरुद्ध भएको थियो । राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरुले संसद् भवनभित्र मधेस आन्दोलनका शहीदका तस्वीर नराखेको भन्दै बैठक अबरुद्ध गरेका हुन् । सभामुखको आसनअगाडि जनआन्दोलनका शहीदहरुको तस्वीर राखिएको थियो ।
बैठक शुरु हुनासाथ राजपा नेपालका सांसद मनिष सुमनले मधेस आन्दोलनका शहीदको तस्वीर राख्न माग गर्दै विरोध गरेका थिए । त्यसपछि राजपाकै सांसद डिम्पल झाले मधेसका शहीदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने बताएपछि सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए ।
राजपा नेपालका सांसदहरुले विरोध गरिरहेका बेला नेकपा एमालेका सांसदरुले भने बैठक अवरुद्ध गर्न नपाइने भन्दै आपत्ति जनाएका थिए । दुई दलका सांसदबीच हंगामा हुने संकेत देखिएपछि ज्येष्ठ सदस्यका हैसियतले सभा सञ्चालन गरिरहेका ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका शहीदको तस्वीर राख्न रुलिङ गरेपछि राजपा नेपालका सांसदहरु बैठक अघि बढाउन तयार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्