देवघाटमा विद्युतीय शवदाह गृह बनाइने • Image Khabar Image Khabar


देवघाटमा विद्युतीय शवदाह गृह बनाइने


Imagekhabar
२३ माघ २०७४, मंगलवार १४:३८

देवघाटमा विद्युतीय शवदाह गृह बनाइने

देवघाट क्षेत्र विकास समितिको अगुवाइमा सो गृह निर्माण गर्न लागिएको हो ।

चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २४ ओटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याइने गरिन्छ ।

हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटमा चारकट्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउने प्रक्रिया अघि बढाइएको हो ।

सो गृह निर्माणका लागि सहरी विकास मन्त्रालयबाट विस्तृत् अध्ययन भइसकेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

१५ दिनपछि अध्ययन प्रतिवेदन आउने र त्यसपछि कामलाई अघि बढाइने उनले बताए ।

करिब रु सात करोड लाग्ने अनुमान गरिएको सो गृह निर्माणका लागि चालू आर्थिक वर्षमा सहरी विकास मन्त्रालयले रु ५० लाख र भरतपुर महानगरपालिकाले रु २० लाख बजेट छुट्याएको छ ।

विस्तृत् अध्ययनको प्रतिवेदन आइसकेपछि शवदाहस्थल निर्माण सुरु गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।

‘देवघाटमा दाहसंस्कार बढी हुने भएकाले दाउराबाट दाहसंस्कार गर्दा एकातिर वन फँडानी बढेको र अर्काेतिर नदीमा प्रदूषण भएकाले विद्युतीय शवदाह गृहमा नै जोड गरेका हौं’–उनले भने ।

दाउराबाट एउटा लास दाहसंस्कार गर्न रु तीन हजारभन्दा बढी खर्च लाग्ने गर्छ । विद्युतीय शवदाहबाट दाउराकोभन्दा पनि खर्चमा ७५ प्रतिशत कटौती हुन्छ ।

यसैगरी, भरतपुर अस्पतालमा बेवारिसे शवको संख्या पनि निकै हुने गरेको छ । ती शव व्यवस्थापनमा पनि कठिनाइ हुँदै आएको छ ।

देवघाटमा शवदहनका लागि चितवन र बाहिरी जिल्लाबाट दाउरा ल्याइँदै आइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्