१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दुर्घटनापछि भक्तपुरका दुवै सडक बन्द


0
Shares

दिउँसो २ बजेदेखि पेप्सीकोला–सानोठिमी हुँदै भक्तपुर जाने सडक बन्द गराएर महानगरीय प्रहरी वृत्त थिमि घेराउ गरेको पीडितपक्षले साँझ ५ बजेदेखि अरनिको राजमार्ग खन्डअन्तर्गत् थिमि चारदोबाटो पनि बन्द गराएको छ ।

काठमाडौंबाट भक्तपुर र पूर्वतर्फ जाने सडक बन्द भएपछि सवारी आवागमन अस्तव्यव्स्त बनेको छ । साँझपख सयौं यात्रीहरु अलपत्र परेका छन् ।

बिहान ५ बजे मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा ‘मर्निङवाक’ गइरहेका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठलाई जेब्राक्रसिङमा काठमाडौंबाट भक्तपुर आउँदै गरेको बा२ख ८००६ नम्बरको मिनिट्रकले ठक्कर दिँदा मृत्यु भएको थियो ।

तीव्रगतिमा आएको मिनिट्रकले ठक्कर दिँदा शव क्षतविक्षप्त अवस्थामा रहेको मृतकका माइला छोरा श्यामले जानकारी दिए ।

उनले भने–‘ठक्कर दिने मिनिट्रकका चालकलाई कडा कारबाही गर्नुपर्छ । घटनाको निष्पक्ष छानबिन हुनुपर्छ, यसबारेमा सवारीधनीसँग हाम्रो छलफल र वार्ता हुनुपर्छ भन्ने माग हो । दिनभरि प्रहरीलाई सवारीधनीलाई बोलाइदिन आग्रह गर्दा प्रहरीले अटेर गरेपछि बाध्य भएर प्रहरी वृत्त घेराउ गरी दुवै सडक बन्द गराएका हौं ।’

मिनिट्रक र चालक काभ्रे, सिसाखानी घर भइ हाल सूर्यविनायक नगरपालिका–८ जगाती बस्ने २९ वर्षीय प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको र चालकलाई पक्राउ गरिसकेको अवस्थामा सडक बन्द गरिएको बताउँदै सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ । रासस